४ श्रावण २०८३, सोमबार

 

गलकोट नगरपालिकाद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

गलकोट । गलकोट नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले यस सम्मान कार्यक्रमले विद्यार्थीहरुमा भविष्यमा थप उच्च शिक्षा हासिल गर्नको लागि उत्प्रेरणा मिल्ने बताउनु भयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको सहयोगले नै विद्यार्थीको नतिजामा सुधार आउने बताउँदै शिक्षा भनेको सबैभन्दा पहिलो प्रारम्भिक आधार भएको बताउनुभएको छ ।

निउरेले गलकोट नगरपालिकाले शिक्षामा धेरै लगानि गरेको बताउँदै आगामी दिनमा अझै नगरपालिकाले शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभएको थियो ।कार्यक्रमको अवसरमा ३.२ वा सोभन्दा माथि जिपिए ल्याउने गलकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ८० जना विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै उक्त कार्यक्रमको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयतर्फ खरुवा माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । भने सत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल र सम्बुद्ध एजुकेशनल एकेडेमीलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा एसईईमा सर्वोत्कृष्ट नतिजा हासिल गरी नगरपालिका प्रथम हुन सफल न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका चाहाना सापकोटा, द्वितीय हुन सफल सोहि विद्यालयको प्रिति साहानी र तृतीय हुन सफल नव प्रभात स्कुलका अग्रता भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयतर्फ खरुवा माध्यमिक विद्यालयका लक्ष्मण गैरेलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको अवसर पारी गलकोट नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत विद्यालयका एकएक जना छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

जसअन्तर्गत सामुदायिक तर्फ गलकोट माध्यमिक विद्यालयका निस्मा नेपाली, खरुवा माध्यमिक विद्यालयको लक्ष्मण गैरे र संस्थागत तर्फ न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका चाहाना सापकोटा, एकता आवासीय माध्यमिक विद्यालयका रक्तिम गौचनलाई नगरप्रमुख छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, गलकोट नगरपालिका ३ का वडा अध्यक्ष फमबहादुर खत्री, नगर शिक्षा समितिका सदस्य तथा जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकी, न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल राम प्रसाद शर्मा, खरुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर थापा, अभिभावक दुर्गा रेग्मी, विद्यार्थी लक्ष्मण गैरेले मन्तव्य गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत शिव खड्काको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारी हेमन्तको स्वागत र शिक्षा शाखाका प्राविधिक सहायक मनु सिंजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung