गलकोट । गलकोट नगरपालिका-७ वडा कार्यालयको आयोजनामा हरितालिका तीजको उपलक्ष्मा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सोमबार आयोजना गरिएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका -७ का वडा अध्यक्ष राजबहादुर थापाले तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व भएकोले यसको सांस्कृतिक महत्व र संस्कारलाई बचाउन सबै लागि पर्नु पर्ने र तीजलाई भड्किलो र महंगो नबनाई चेलिबेटीहरुको दुख, वेदना र हकहितमा केन्द्रीत हुनु पर्ने बताउनुभयो ।
सो अवसरमा गलकोट नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख संगिता श्रीस, गलकोट नगरपालिका उद्यम विकास सहजकर्ता कमला सुनार, गलकोट नगरपालिका-७ का पूर्वजनप्रतिनिधि लक्ष्मी नेपालीले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा तीज गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम वडा नम्वर-७ का महिला वडा सदस्य यशुधा थापाको अध्यक्षता, कार्यालय सहायक सरस्वती थापा केसीको स्वागत र वडा सचिव सुशिला घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































