४ श्रावण २०८३, सोमबार

 

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा बागलुङ नगरपालिका उत्कृष्ट

बागलुङ । जिल्लाको सबै भन्दा ठूलो स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिका कार्यालय स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा उत्कृष्ट बनेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलका अनुसार आर्थिक वर्ष २०८०/०८१ को मूल्यांकनमा नगरपालिका अब्बल तथा उत्कृष्ट बनेको हो ।

यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवर्द्धन सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो ।

‘औपचारिक घोषणा भने भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेश स्तरमै पुरस्कृत बन्ने भएको छ’ कँडेलले भने, ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनाउन सकेको छ ।’

तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शिर्षकमा २ दर्जनबढी उपशिर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो ।

सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशिर्षकमा मूल्यांकन गर्न शुरु भएको कंडेलले बताउनुभयो।

तोकेको समयमा तोकेका काम पुरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामाग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कंडेलले जानकारी दिनुभयो ।

मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली सम्बन्धी अभिमुखीकरण’ अभियान समेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको कंडेलले बताउनुभयो ।

नगरपालिकाले देखिने गरी पुर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। त्यसका लागि कर्मचारी र कार्यालय स्मार्ट बनाउने र सेवा प्रवाहलाई छिटोछरितो प्रदान गर्ने श्रेष्ठले बताउनुभयो।

उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्दन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भैरहेको बताउनुभयो । सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमा समेत भएको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung