३ श्रावण २०८३, आईतवार

 

बागलुङ समाज कल्याण केन्द्र महिला समूहद्वारा तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंले तीज विशेष दरखाने कार्यक्रम आयोजना गरी पर्वको उल्लासपूर्वक मनाएको छ। राजधानीमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसहित सांस्कृतिक र सामाजिक सहभागिता देखिएको थियो।

कार्यक्रममा महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ तथा पूर्वअध्यक्ष रसुमिला श्रेष्ठले तीज पर्वले नेपाली दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला भई आपसी सुख–दुःख साटासाट गर्ने अवसर प्रदान गर्ने बताउँदै पर्वको सामाजिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँहरूले तीजलाई केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता र महिला सशक्तिकरणको प्रतीकका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

बागलुङबाट व्यापार, व्यवसाय, अध्ययन  लगायत विभिन्न कारणले काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिहरूले संगठित भई बागलुङ समाज कल्याण केन्द्र महिला समूह गठन गरेका हुन्। समूहले सामाजिक, शैक्षिक तथा मानवीय क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आइरहेको छ। यस प्रकारका कार्यक्रमहरूले समुदायबीचको सम्बन्ध प्रगाढ बनाउने र सांस्कृतिक पहिचानलाई जोगाउने कार्यमा सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, तीज गीत तथा नृत्यमार्फत सहभागीहरूले पर्वको रौनक थपेका थिए। महिला सहभागिता उल्लेखनीय रहेको कार्यक्रममा तीजको परम्परागत स्वादयुक्त दर पनि आकर्षणको केन्द्र बनेको थियो।
कार्यक्रममा महिला समूहको ७८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको अध्यक्षता र पूर्वअध्यक्ष रसुमिला श्रेष्ठकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung