बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धाममा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकारको सहयोग तथा पालिकाको लगानीमा जैमिनीधामको महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ ।
नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रर्बद्धन मार्फत पर्यटक भित्राउने योजना मार्फत हालै जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको छ ।
जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै रु २० लाख खर्चेर जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ । कालीगण्डकी करिडोर कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सामाजिक उत्तरदायित्व अनुसार करिडोरको छेउमै रहेको जैमिनी धाममा जैमिनी ऋषिको मूर्ति निर्माण गरेको हो ।
जैमिनी नगरपालिका–१ जैमिनी धाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा जग्गा व्यवस्थापन, १०८ धारा निर्माण, ध्यान पार्क निर्माणका लागि जग्गा व्यवस्थापन लगायतको काम भइरहेको र अहिले नगरपालिका र कालिका कन्ट्रक्सनको सहकार्यमा जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
जैमिनी ऋषिले तपश्या गरेको गुफा र जैमिनी धामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम भइरहेको सन्र्दभमा जैमिनी ऋषि चिनाउनका लागि पहिला मूर्ति निर्माण गरिरहेकोे उहाँको भनाई छ । उहाँले जग्गा छनोट, जग्गा व्यवस्थापन नगरपालिकाले गरेको र मूर्ति निर्माणको काम कालिका कन्ट्रक्सनले गरेको जानकारी दिनुभयो ।
मूर्ति ६ फिट भन्दा अग्लो र चार फिट चौडा रहेको छ । ऐतिहासिक धार्मिक स्थललाई चिनाउन मूर्तिले ठूलो भूमिका खेल्ने छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्र भएसंगै जैमिनीधामको महत्व बढेको र सडकबाटै देखिनेगरी मूर्ति निर्माण गरिएको हो ।
राजमार्गमा गुड्ने सवारीधानमा हिडेका पर्यटकहरु जैमिनी धाम दर्शनका लागि पुग्न थालेपछि पूर्वाधार निर्माणमा समेत नगरपालिकाले जोड दिएको हो ।
प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचार प्रसार संगै पूर्वाधार निर्माणमा जोड दिइएको बताउदै उपप्रमुख शर्माले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाखबाट ध्यान केन्द्रका लागि पूर्वाधार निर्माणको थालनी, १०८ धारा लगायतका संरचना तयार गरिएको बताउनुभयो ।
पूर्णकदको मूर्तिले जैमिनी ऋषिको महत्व बढाउने शर्माको भनाई छ । नगरपालिकाले निर्माण गरेको जैमिनी ऋषिको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०मा जैमिनी धामको पुननिर्माण, शंकशिला, देव शिला र नाग शिला र जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षण लगायतका पूर्वाधार निर्माण गर्ने उल्लेख अनुसार काम थालिएको छ । जैमिनीधामा पूर्वाधार निर्माण गर्न डिपिआर अनुसार झण्डै रु १४ करोड खर्च लाग्ने अनुमान छ ।















































































































































































































