३ श्रावण २०८३, आईतवार

 

बागलुङमा नमूना मतदान : मत पेटिकाको सुरक्षादेखि हुलदंगा नियन्त्रणसम्मको अभ्यास

बागलुङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सहज बनाउन बागलुङमा सुरक्षा निकायको संयुक्त समन्वयमा नमूना मतदान अभ्यास सोमबार सम्पन्न भएको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङको खेल मैदानमा सुरक्षा निकायको संयुक्त नमूना मतदान अभ्यास गरिएको हो ।

जिल्ला स्थित चारवटै सुरक्षा निकायको संयुक्त सहभागीतामा मतदान अभ्यास, मतदान केन्द्रको सुरक्षा, मत पेटिकाको सुरक्षा, हुलदंगा नियन्त्रण र मतदाता सहायतका सम्बन्धी अभ्यास गरिएको प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन प्रहरीहरूको उपस्थितिमा नमूना मतदानका लागि आवश्यक सम्पूर्ण अभ्यास सम्पन्न गरिएको छ ।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी जिल्ला समितिको आयोजनामा भएको अभ्यासमा मतदानस्थलको निर्माण, नमूना मतदान प्रक्रिया, मतदान कार्यमा अवरोध उत्पन्न भएमा अपनाइने उपाय, सुरक्षा जोखिम व्यवस्थापन, अवरोध हटाई मतदान सुचारु गर्ने प्रक्रिया, कानुन बमोजिम सिलसिलेवार बल प्रयोगको अभ्यास, शंकास्पद वस्तु फेला परेमा त्यसको सुरक्षित डिस्पोजल तथा मतगणना केन्द्रसम्म मतपेटिका ढुवानीसम्बन्धी अभ्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung