बागलुङ । ग्राण्डी इन्टरनेशनल अस्पताल र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार हस्ताक्षर भएको उक्त सम्झौता अनुसार समाजका सदस्यहरूले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्नेछन्। सम्झौताको अवधि दुई वर्षको रहने जनाइएको छ।
सम्झौताअनुसार ग्राण्डी अस्पतालले समाजका सदस्यहरूलाई अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। यस अन्तर्गत प्याथोलोजी, रेडियोलोजी, बेड शुल्क, चिकित्सक तथा नर्सिङ सेवा, शल्यक्रिया, भेन्टिलेटर प्रयोग, अपरेशन थिएटरलगायतका सेवामा छुट उपलब्ध हुनेछ।
तर, खोप सेवा, प्रक्रिया, औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, बाह्य परामर्श, वेलनेस प्याकेज तथा आउटसोर्स सेवाहरूमा भने छुट लागू नहुने उल्लेख गरिएको छ।
त्यसैगरी, अस्पतालले टेलिफोन तथा भर्चुअल माध्यमबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म परामर्श सेवा उपलब्ध गराउनेछ। स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, अनुकूलित स्वास्थ्य परीक्षण प्याकेज उपलब्ध गराउने तथा आवश्यकताअनुसार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति पनि गरिएको छ।
सम्झौतामा आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तथा हेलिकप्टरमार्फत उद्धार सेवामा प्राथमिकता दिने व्यवस्था गरिएको छ। साथै ‘ग्राण्डी एट होम’ कार्यक्रम अन्तर्गत घरमै स्वास्थ्य सेवा प्रदान गर्ने र आवश्यकताअनुसार सवारी सेवा उपलब्ध गराउने उल्लेख छ।
सम्झौतामा अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा प्रसाद शर्मा र ग्राण्डी इन्टरनेशनल अस्पतालका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन्।कोडिनेटरमा बागलुङ समाज कल्याण केन्द्रकी पूर्वअध्यक्ष रसुमिला श्रेष्ठ रहेकी छिन् ।
उक्त सहकार्यले विदेश तथा देशभर रहेका बागलुङ समाजका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।













































































































































































































