बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङमा स्थापित ‘ओमप्रसाद–मेघकुमार’ सम्मानबाट यशोदा राजभण्डारी सम्मानित हुनुभएको छ । स्वास्थ्यकर्मी तथा समाजसेवी श्रेष्ठलाई कुष्ठरोगीको सेवा र अधिकार रक्षामा योगदान पु¥याए बापत सम्मान गरिएको हो ।
शनिबार आयोजित पुस्तकालयको ७७औँ वार्षिक साधारणसभामा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले राजभण्डारीलाई नगद रु। पाँच हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
कुष्ठरोगलाई जितेपछि नर्स बन्नुभएकी राजभण्डारीले पोखराको हरियो खर्क अस्पतालमा कुष्ठरोगीको उपचार र सेवामा २५ वर्ष बिताउनुभएको थियो ।
सम्मान ग्रहणपछि उहाँले कुष्ठरोगीको सेवामा आफ्नो जीवन समर्पित गरेको बताउनुभयो ।
उहाँ सानो छँदा कुष्ठरोगको लक्षण देखिएको थियो । क्याम्पस पढ्ने उमेरमा कुष्ठरोग निको भएपछि उहाँले विसं २०३० सालमा काठमाडौंको सान्त भवनमा नर्सिङ अध्ययन सुरु गर्नुभएको थियो ।
विसं २०५४ सालमा कुष्ठरोगीको हितमा क्रियाशील संस्था आइडिया नेपालको उहाँ अध्यक्षसमेत भएर काम गर्नुभएको थियो ।
सोही संस्थाको प्रतिनिधित्व गर्दै राजभण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित इन्टरनेशनल ल्याप्रोसी इफेक्टेड वुमन्स कन्फ्रेन्समा सहभागिता जनाउनुभएको थियो ।
विसं २००९ सालमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा बुबा डम्बरबहादुर राजभण्डारी र आमा मंगल देवी राजभण्डारीको कान्छी छोरीको रुपमा जन्मनु भएकी श्रेष्ठ हाल पोखरा बसोबास गर्नु हुन्छ ।
उहाँले विसं २०२५ सालमा विद्यामन्दिर माविबाट एसएलसी दिनु भएको थियो ।
मन्त्री नेपालीले राजभण्डारीको सङ्घर्षशील जीवन अरुका लागि प्रेरणादायी रहेको बताउनुभयो ।
आफै कुष्ठरोगबाट प्रभावित भई त्यसलाई जितेर कुष्ठरोगीको सेवामा जीवन समर्पित गर्नुभएकी राजभण्डारीको योगदानको कदर गर्दै सम्मान गरिएको पुस्तकालयका अध्यक्ष शर्माले बताउनुभयो ।
उहाँ सामाजिक गतिविधिमा पनि क्रियाशील रहँदै आउनुभएको छ ।
पुस्तकालयका संस्थापक द्वय ओमप्रसाद गौचन र मेघकुमार वैद्यका नाममा स्थापित उक्त सम्मान बर्सेनि पुस्तकालयको साधारणसभामा प्रदान गरिँदै आएको छ ।
राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ ।
धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिइन्छ ।













































































































































































































