२ असार २०८३, मंगलवार

 

बालगृहका बालबालिकालाई लायन्स क्लब अफ बागलुङ पिस टाउनको खाद्यान्न तथा खेलकुद सामग्री सहयोग

बागलुङ । तमानखोला गाउँपालिकामा रहेको तमानखोला बालगृहमा आश्रित बालबालिकाको मुहारमा मुस्कान ल्याउने उद्देश्यले लायन्स क्लब अफ बागलुङ पिस टाउनले खाद्यान्न तथा खेलकुद सामग्री सहयोग गरेको छ।

क्लबकी सचिव ज्योति केसी विष्टका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा बालगृहका बालबालिकाका लागि आवश्यक ४५ हजार रुपैयाँको खाद्यान्न सामग्रीसँगै खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

सेवा नै हाम्रो धर्म, सहयोग नै हाम्रो अभियानू भन्ने मूल नारासहित गरिएको सहयोगले बालबालिकामा उत्साह थप्ने विश्वास व्यक्त गरिएको छ।

लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष एलिजा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष सनिशा घर्ती, तमानखोला बालगृह सदस्य सचिव हुकुमबहादुर थापा, धन गौजती माविका प्रधानाध्यापक तेजेन्द्र घर्ती, समाजसेवी गोविन्द बुढा, महिला उद्यमशिल आमा समूहकी सदस्य विमा कुमारी घर्ती, बालगृहकी सदस्य दिल कुमारी बुढा, तमान युवा क्लबका अध्यक्ष पवन बुढाथोकीले मन्तव्य व्यक्त गर्दै समाजका विपन्न तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो।

उहाँले यस्ता मानवीय कार्यले सामाजिक सद्भाव र सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो। कार्यक्रमको संचालन क्लबकी सचिव ज्योति केसी विष्टले गर्नु भएको थियो ।

कार्यक्रममा बालगृहका बालबालिकाले प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए। क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung