बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले ढोरपाटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
बागलुङको ढोरपाटन उपत्यकामा आयोजित दुई दिने ‘ढोरपाटन मिडिया समिट–२०८३’ को उद्घाटन गर्दै मन्त्री शेरचनले विगतमा सीमित व्यक्तिले मात्र चिन्ने ढोरपाटन आज विश्वका पर्यटकमाझ परिचित गन्तव्य बन्नुमा मिडियाको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
उहाँले ढोरपाटन, बुकीपाटन, ढोरबराह, ढोर उपत्यका तथा निसेलढोरजस्ता पर्यटकीय स्थलको प्रचार–प्रसारमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रभावकारी बनेको उल्लेख गर्दै अझै ओझेलमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई उजागर गर्न मिडिया सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शेरचनले पूर्वाधार विकाससँगै प्रचार–प्रसारका कारण ढोरपाटनमा वार्षिक करिब २५ हजार पर्यटक भित्रिने अवस्था सिर्जना भएको बताउनुभया । उहाँका अनुसार गण्डकी प्रदेश सरकारले ढोरपाटन क्षेत्रमा चक्रिय सडक निर्माणका लागि बजेट व्यवस्था गरेको छ भने ‘राउण्ड धौलागिरि’ पदमार्गलाई ढोरपाटनसँग जोड्ने योजना अघि बढाइएको छ ।
राउण्ड धौलागिरि पदमार्गलाई व्यवस्थित गरी ढोरपाटनलाई चक्रिय पदयात्रा गन्तव्यका रूपमा विकास गर्न सके अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने उहाँको भनाइ थियो । निर्माणाधीन सडक स्तरोन्नति सम्पन्न भएपछि पर्यटक आवागमन थप सहज हुने उहाँले बताउनुभयो ।
उहाँले ढोरपाटनको मौलिक कला, संस्कृति तथा लोकसङ्गीत संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जलाशययुक्त जलविद्युत् आयोजनासम्बन्धी निर्णय भने सङ्घीय सरकारले गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जोकलाल बुढाले ढोरपाटनलाई तमानखोला गाउँपालिकासँग जोडेर एकीकृत पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी धनबहादुर कायतले प्राकृतिक सम्पदा, सिकार पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ‘ढोरपाटन मिडिया समिट–२०८३’ आयोजना गरिएको जानकारी दिनुभयो। समिटले ढोरपाटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सञ्चारमाध्यम, पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
समिटअन्तर्गत ‘ढोरपाटन–प्रकृतिबाट समृद्धि’ विषयमा की–नोट प्रस्तुति, ‘ढोरपाटनको भविष्य ः सिकार पर्यटन कि दिगो पर्यटन रु’ विषयमा प्यानल बहस तथा ‘मिडिया र सामाजिक सञ्जालमा ढोरपाटन’ विषयमा राउण्डटेबल छलफल सम्पन्न भएको थियो ।
कार्यक्रम जविन्त मिडिया हाउसका निर्देशक नवराज नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष सृजना पन्तले गर्नुभएको थियो ।













































































































































































































