२८ असार २०८३, आईतवार

 

२९ कलाकारले चित्रमा उतारे कालिका मन्दिर

बागलुङ । कालिका मन्दिरलाई विश्वभर चिनाउन चित्रकला कार्यशाला सम्पन्न गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना तथा शनिबारीय चित्रकला कार्यशाला अभियानअन्तर्गत रन्तल आर्ट र मिलन ट्याटुको सहकार्यमा शनिबार ‘बागलुङ कालिका मनसुन स्थलगत चित्रकला (प्लेन एयर पेन्टिङ) कार्यशाला’ सम्पन्न गरिएको हो ।

कार्यशालामा कलाकारहरूले कालिका भगवती मन्दिर, मन्दिर परिसर, सत्तल, घण्टी, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदालाई प्रत्यक्ष अवलोकन गर्दै क्यानभासमा उतारेका थिए ।चित्रकार दिवेश प्रधानले नेपालका विभिन्न स्थानको कला दस्तावेज तयार गर्ने अभियानअन्तर्गत बागलुङमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार कार्यशालामा तयार भएका चित्रहरू विभिन्न कला प्रदर्शनी तथा कार्यक्रममा प्रदर्शन गरिनेछ । यसबाट कालिका मन्दिरको प्रचार–प्रसारसँगै स्थानीय कला र संस्कृतिको प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यशालामा काठमाडौं, म्याग्दी, बागलुङ लगायतका विभिन्न स्थानका कलाकारसँगै भारतका दुई कलाकारको समेत सहभागिता रहेको थियो ।

बागलुङका चित्रकार मछिन्द्र शाक्यको स्थानीय संयोजनमा सम्पन्न कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ । स्थलगत चित्रकलाले स्थानीय परिवेश, सम्पदा र संस्कृतिलाई कलामार्फत दस्तावेजीकरण गर्न तथा सर्वसाधारणलाई कलासँग नजिक बनाउन सहयोग पुग्ने प्रधानले बताउनुभयो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले चर्चित कलाकारहरूले कालिका मन्दिरलाई क्यानभासमा उतार्नु मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन र ऐतिहासिक सम्पदाको संरक्षणका दृष्टिले महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung