बागलुङ । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चार दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समिति, बागलुङको आयोजनामा तालिम सञ्चालन गरिएको हो।
तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका विभिन्न सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको छ। साबुन बनाउने प्रक्रियादेखि आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन आवश्यक आधारभूत जानकारी समेत प्रदान गरिएको थियो।
घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको माग बजारमा निरन्तर रहने भएकाले यसको उत्पादनसम्बन्धी सीपलाई सानो तथा घरेलु उद्यमका रूपमा विकास गर्न सकिने सम्भावना रहेकोले तालिम प्रभावकारी हुने आयोजकले जनाएको छ।

स्थानीयस्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोग, आफ्नै समयअनुसार उत्पादन गर्न सकिने र बजारको मागअनुसार विभिन्न प्रकारका साबुन उत्पादन गर्न सकिने भएकाले महिलाहरूका लागि साबुन बनाउने सीप आयआर्जनको माध्यम बन्न सक्ने समितिले जनाएको छ।
तालिमले महिलाहरूलाई केवल सीप प्रदान गर्नेभन्दा पनि सीपलाई उद्यम र स्वरोजगारसँग जोड्न प्रेरित गर्ने उद्देश्य राखेको जनाइएको छ। तालिम समापन कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले हातमा सीप भएका व्यक्ति कहिल्यै बेरोजगार नहुने बताउनुभयो।
उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै उद्यमसँग जोड्नुपर्नेमा जोड दिनुभयो। महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रभावकारी हुने उहाँको धारणा थियो।

उत्पादन गरेको साबुनलाई स्थानीय बजार, पसल तथा विभिन्न संस्थामार्फत बिक्री वितरण गर्न सकेमा घरेलु उद्योगको रूपमा विस्तार गर्न सकिने सम्भावना रहेको बताउदै यसबाट महिलाहरूको आयआर्जन बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष तथा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्य, महिला उद्यम विकास समितिका सल्लाहकार सनिसा घर्ती, तालिमका प्रशिक्षक ममता चौलागाईं, महिला हित सहकारी संस्थाका अध्यक्ष लीला खड्का तथा सहभागीका तर्फबाट मञ्जु क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिममा सहभागी २८ जना महिलालाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट साबुन उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल भएकाले आगामी दिनमा यसलाई आयआर्जन र उद्यमसँग जोड्न सहज हुने बताएका थिए।
महिला उद्यम विकास समितिकी अध्यक्ष पिङ्गला खड्का जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिकी महासचिव रम्बादेवी शाक्यले गर्नुभएको थियो भने उपाध्यक्ष जुनु श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
महिलाहरूलाई उत्पादनमूलक सीप प्रदान गरी स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने देखिन्छ। तालिमपछि सहभागीहरूले व्यक्तिगत रूपमा वा समूह बनाएर साबुन उत्पादनलाई व्यावसायिक रूप दिन सकेमा सीपको दीर्घकालीन उपयोगसँगै महिलाहरूको आर्थिक सशक्तीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तस्वीर : दिनेश जिसी
















































































































































































