१५ बैशाख २०८१, शनिबार

 

पोखरापछि कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउने तयारीमा छौ -मन्त्री लम्साल

पर्वत/ गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम पर्यटकीय सम्भावनाले पनि भरिपुर्ण रहेको र पोखराको बिकल्प दिने ठाउँ पर्वत बाहेक अरु नभएका कारण पर्वतलाई इपिसेन्टरको रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
सोमवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा रहेका मुलुककै अग्ला र लामा पुलको परिसरको अवलोकन तथा सरोकारवालाहरुसँगको छलफलमा मन्त्री लम्सालले अग्ला पुल, विश्वकै दोस्रो अग्लो बञ्जि जम्प, कालीगण्डकी नदि र यान्त्रिक पुल जस्ता आकर्षक पर्यटकीय पूर्वाधारलाई लक्षित गरि इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभयो ।

उहाँले सन् २०२२ सम्म पोखरामा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताउँदै पोखराको क्षमताले नभ्याउने पर्यटकहरुलाई नजिकको गन्तव्य पर्वत सदरमुकामसँगै ग्रामीण क्षेत्रमा समेत पूर्वाधारको विकास गरेर यसतर्फ पठाउन सकिने बताउनुभयो । उहाँले पोखराबाट पर्वत ४५ मिनेटमै पुग्न सकिने भएकाले हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी र बागलुङका विभिन्न पर्यटकी क्षेत्रमा पुग्ने पर्यटकहरु पर्वतमा बसेर यहाँबाट अन्य गन्तब्यमा जान सक्नेगरी बिकल्प दिन सकिने उल्लेख गर्नुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशको आर्थिक विकासको मुख्य आधारनै पर्यटन भएकाले यसको विकासका लागि सरकारले पुरै ध्यान, योजना, र कार्यक्रम केन्द्रित गरेको पनि जानकारी दिनुभयो । मन्त्री लम्सालले पोखरामा दैनिक झण्डै ३५ हजार भन्दा बढि पर्यटक राख्न सक्ने क्षमता नभएको बताउँदै त्यभन्दा बढि सख्ंयामा आउने पर्यटकहरु पर्वत लगायत धौलागिरिका जिल्लातर्फ ल्याउनुको विकल्प नभएको बताउनुभयो । बढ्दो पर्यटकको आवागमनलाई लक्षित गरी प्रदेश सरकारले तीन सय वटा व्यवस्थित होमस्टे थप गर्न लागेको पनि बताउनुभयो ।

उहाँले सुविधासम्पन्न होटल ब्यावसायमा लगानी बढाउन सुझाव दिँदै बजेट बिनीयोजन भएका पर्यटन पूर्वाधारहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न आग्रह पनि गर्नुभएको छ । पर्वतका सरोकारवालाहरुले पर्वतमा रहेका पर्यटकीय पूर्वाधार र सम्भावनाहरुको प्रवद्र्धनका लागि मन्त्रालयले विशेष ध्यान दिन आग्रह गरेका थिए ।

नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अग्ला पुल परिसरमा व्यवस्थित पार्क र अन्य पूर्वाधारहरुको अभाव रहेको बताउँदै यहाँ व्यवस्थित पार्क र रिसोर्टसहितका पूर्वाधार विकासका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपाका कार्यकर्ताहरुले पनि जिल्लाको पर्यटनका पूर्वाधारहरुको विकासमा मन्त्री लम्साललाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्