१४ बैशाख २०८१, शुक्रबार

 

प्याराग्लाइडिङका लागि बागलुङको बलेवा

- पाइलट भन्छन् -उत्कृष्ट ठाउँ छ

 

बागलुङ । प्याराग्लाइडिङका लागि पोखराको सरङ्कोटको विकल्प बागलुङको बलेवा हुने देखिएको छ ।गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । पोखराको भ्यालीलेक प्याराग्लाइडिङ कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् ।

लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान गरेपछि सराङ्कोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए ।

हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने पाइलट सागर राउतले बताए । समुद्री सतहदेखि एक हजार ७६० मिटरको उचाइमा रहेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेको धुरीबाट उडेका पाँच प्याराग्लाइडिङहरु बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा विमानस्थल नजिकै अवतरण गरिएको थियो ।

प्याराग्लाइडिङ उड्ने पहरेको धुरीमा धावनमार्गजस्तै मिलेको भूबनोटका कारण उडान गर्न निकै सहज भएको पाइलटहरुको अनुभव छ ।‘प्याराग्लाइडिङ उड्ने स्थान निकै उत्कृष्ट लाग्यो ।’ सुनुवारले भने ।बलेवामा प्याराग्लाइडिङ गर्दा बागलुङ तथा पर्वत क्षेत्रका साथै धवलागिरि माछापुच्छ्रेलगायतका दर्जन बढी हिमशृङ्खला देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्