१४ बैशाख २०८१, शुक्रबार

 

१० देशबाट कलाकार झिकाई इस्कोनले बागलुङमा गर्यो अन्तराष्ट्रिय स्तरको कार्यक्रम

- कार्यक्रमको चौतर्फी तारिफ !

बागलुङको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङको आयोजनामा एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक प्रस्तुती दिएका छन् । महाशिवरात्रीको अवसरमा फागुन १५ गते आयोजना गरिएको महारात्री कार्यक्रममा विदेशी कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुतीका माध्यमबाट नेपाली संस्कृतीको महानता गान गर्नुका साथै संरक्षण गर्न पनि सन्देश दिएका छन् ।

विदेशी कलाकारले नेपाली झण्डा उचाली राष्ट्रिय गान सहित नेपाल राष्ट्रको सम्मान गर्दै कार्यक्रम उद्धाटन गरिएको कार्यक्रमले सहभागीहरुको मन जितेको थियो । ५०० भन्दा बढी दर्शकले भरिएको बागलुङको कालिगण्डकी फिल्म हलमा वेदा नाम गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक समुहले रामायण, भागवत, कृष्णलिला, शिवरात्री आदिमा आधारित नाटक , नृत्य तथा गितहरु प्रस्तुत गरेको हो ।

रसिया, युक्रेन, अमेरिका, हंगरी, पोल्याण्ड ,बंगलादेश, भारत लगायतका देशबाट आएका कलाकारहरुले दर्शकलाई छुट्टै प्रकारको आध्यात्मिक रसास्वदन गराएका थिए । कार्यक्रममा सबै विधामा गित गाउन अब्बल गायक थानेश्वर गौतमले पनि हरेकृष्ण हरेराम भजन कीर्तन गाएका थिए ।
कार्यक्रममा रसियन गुरु पत्री दास प्रभुले मन्तव्य राख्दै नेपालीहरुले आफ्नो धर्मसंस्कृती विर्सन नहुने कुरामा विशेष जोड दिनुभएको थियो । उहाँले आफूहरुजस्ता विदेशीहरुले समेत हरेकृष्ण हरेराम जप गर्दै जीवन समर्पण गरेको तर नेपालीहरु भने आफ्नो धर्मसंस्कृती छाड्दै गएको भन्दै नजिकको तीर्थ हेला गर्न नहुने धारणा राख्नुभएको थियो । बेलुका ४ः३० बाट शुरु भएको कार्यक्रम राती ८ः३० बजे दर्शकको उत्साहजनक सहभागितासहित सम्पन्न भएको थियो ।

बिरगञ्ज, चितवन, बागलुङ र काठमाडौंमा कार्यक्रम गर्न आएको वेदा नामक अन्तर्राष्ट्रिय सांस्कृतिक समुहले हालसम्म विरगञ्ज, भरतपुर र बागलुङमा आफ्नो प्रस्तुती देखाइसकेको छ भने फागुन १७ गते बेलुकी ४ बजे काठमाडौंको राष्ट्रिय सभागृह र २० गते महाशिवरात्रीको दिनमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको सुमार्गी ग्राउण्डमा पनि प्रस्तुती गर्ने आयोजक संस्था इस्कोन नेपालका केन्द्रिय उपाध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्