१४ बैशाख २०८१, शुक्रबार

 

काठेखोला ‘एक वडा, एक पहिचान’काे तयारीमा

बागलुङ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षमा ‘एक वडा, एक पहिचान’ बनाउने महत्वाकांक्षी योजना ल्याएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाको रुपमा विकास गर्न ‘एक वडा, एक पहिचान’ कार्यक्रम ल्याएको जानकारी गराएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापीत गर्ने गरी गाउँपालिकाका आठ वडालाई भौगोलिक, साँस्कृतिक तथा उत्पादनका हिसावले वर्गिकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी गराए। ‘प्रत्येक वडामा फरक–फरक पहिचान स्थापीत गर्ने गरी कार्यक्रम ल्याएका हौं’ थापाले भने ।

गाउँपालिकाले वडा नम्बर १ लाई हाटबजार विस्तार, वडा नम्बर २ लाई पर्यटन तथा जडीबुटी, ३ लाई आलुको पकेट क्षेत्र, ४ लाई सांस्कृतिक संग्रहालय, ५ लाई धार्मिक पर्यटन, ६ लाई सुन्तलाको पकेट क्षेत्र, ७ लाई खेलकूद र वडा नम्बर ८ लाई हाते कागज र स्थुपाको पहिचानका रुपमा स्थापीत गर्नेभएको छ । उनले भने ‘गाउँपालिकाले गरेको वर्गिकरणका आधारमा वडाले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।’

वडाहरुले आधारभूत आवश्यकता संगै गाउँपालिकाले स्थापना गर्न खोजेको पहिचानलाई समेत ध्यानमा राखेर विकास गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । विश्वकर्माले गाउँपालिकाले आगामी वर्षदेखि वजेट विनयोजन गर्दा पहिचानलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।

सबै वडामा सबैको विकास सम्भव नभएका कारण एक वडालाई एउटा क्षेत्रमा पहिचना स्थापीत गर्दा गाउँपालिकालाई समृद्धि गाउँपालिकाको रुपमा विकास गर्न सकिने वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता संगै वर्गिकरण गरेको वडाको पहिचानलाई ध्यानमा राखेर अगाडि बड्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाको जुन वडामा जे संभावना छ, त्यसैलाई अध्ययन एवं पहिचान गरी प्राथमिकताका आधारमा स्थापीत गर्नेगरी गाउँपालिकाले तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्