२० बैशाख २०८१, बिहीबार

 

बागलुङ नगर खानेपानीमा चरम बेथिति, प्रकृया छलेर सात लाख बढिको सामान खरिद

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफा उपभोक्ता समितिले प्रकृया नपुर्याइ फर्निचरका सामान खरिद गरेको छ । सनितिका अध्यक्ष केवी राना मगरले कोटेशनबिनै रू सात लाख बढीको सामान किनेको पाइएको हो ।

बागलुङ नगरपालिका-२ गोदामघर चोकमा रहेको कार्यालय श्रीनगर टोलमा सार्दा सार्वजनिक खरीद ऐनलाई कुल्चँदै र कोटेशन नखुलाई फर्निचरका सामान र कार्पेट खरिद गरिएको हो ।

गत चैत १ गतेदेखि नगर खानेपानीको कार्यालय नयाँ घरमा सरेपछि बिना प्रतिस्पर्धा अध्यक्ष राना मगरको एकल आदेशमा पटकपटक गरी चैत दोश्रो हस्तासम्म सामान कार्यालयमा ल्याइएको थियो ।

बैठकले सामान खरिदको निर्णय गरेपनि समितिले खरिद प्रक्रिया पुरा नगरेको हो । समितिले सामान खरिद गर्दा सूचना पाटीमा सूचना प्रकाशन गर्ने, पत्रिकामार्फत कोटेशन आव्हान गर्ने, विभिन्न फर्निचर सो रुमहरुमा कोटेशन माग्ने र खुल्ला प्रतिस्पर्धामार्फत सामान खरिद कार्य नभएको समितिका एक पदाधिकारीले बताए ।

समितिले रू एक लाखसम्मको सामान समितिको निर्णयको आधारमा खरिद गर्न पाउने सार्वजनिक खरिद ऐनमा व्यवस्था छ ।

रू दुई लाखदेखि रू १० लाखसम्मको सामान खरिद गर्दा समितिको निर्णय,कार्यालयको सूचना पार्टीमा सूचना प्रकाशित गर्नु पर्ने, पत्रिकामा सार्वजनिक सूचनामार्फत कोटेशन आह्वना गर्नु पर्ने र कोटेशन विभिन्न व्यवसायी फर्मबाट माग गर्नुपर्ने कानुनी प्रावधान छ । रू दश लाखभन्दा बढीको सामान खरिद गर्नु पर्ने भएमा टेण्डर आव्हान गर्नु पर्ने व्यवस्था रहेको छ ।

सार्वजनिक निकायले मालसामान, निर्माण कार्य र परामर्श सेवा खरिद गर्दा खरिद ऐनले गरेको कार्यविधि पूरा गर्नुपर्ने र यसको प्रतिकूल हुने गरी गरिएका खरिद अमान्य हुने कानुनी व्यवस्था छ । अध्यक्ष राना गत पुस २८ गते निर्वाचित भएपछि आफनो चुनावी प्रतिबद्धता विपरीत सामान खरिद गरेका हुन् ।

निर्वाचनका बेलामा उनको प्रतिबद्धतापत्रमा आर्थिक पारदर्शितालाई केन्द्रमा राख्ने उल्लेख थियो । संस्थामा हुन सक्ने चुहावट रोक्ने र चालु खर्चलाई नियमन गरि संस्थाको आर्थिक व्ययभार घटाई स्वावलम्वन र आत्मनिर्भर बनाउने उल्लेख गरिएको थियो ।

साथै लेखा समिति गठन गरि संस्थाको आयव्ययलाई पादरर्शी, चुस्तदुरुस्त राख्दै नियमित वार्षिक साधारण सभामार्फत सामाजिक लेखा परीक्षण गरि सुशासनसहितको विकासमा जोड दिने घोषणपत्र जारी गरेपनि घोषणपत्र घोषणामै सीमित भएको छ ।

संस्थाको वास्तविक अवस्थाबारे आम उपभोक्तालाई जानकारी गराउनको लागि निर्वाचित भएको तीन महिना भित्रै स्वेतपत्र जारी गर्ने घोषणापत्रमा उल्लेख भएपनि निर्वाचित भएको तीन महिना बितिसक्दासमेत स्वेतपत्र जारी हुन सकेको छैन्

।कार्यसमितिको निर्णय गरेर मात्र सामान खरिद गरेको बागलुङ नगर खानेपानी तथा सरसफा उपभोक्ता समितिका अध्यक्ष केवी राना मगरले नयाँ विश्वलाई बताए ।सामाजिक काममा कार्यसमितिका पदाधिकारी र सदस्यको सामान बुझाई नहुँदा काम गर्न गाह्रो भएको उनले भने ।

कार्यालयलाई चाहिने सामान खुल्ला प्रतिस्पर्धामार्फत खरिद गर्न नपाएको विषयमा मैले बैठकमा नोट अफ डिसेन्ट लेखेको छु समितिका कोषाध्यक्ष कृष्ण शर्माको भनाई थियो ।

बैठकले सामान खरिद गर्ने निर्णय गरे पनि सूचना प्रकाशन गरेर, विभिन्न फर्निचर सो रुममार्फत सामान खरिदको आव्हान गरेर जुन पसलले गुणस्तरीय र मूल्य मिलाएर दिन्छ त्यहि पसलबाट सामान खरिद गर्ने काम हुन सकेन, एउटा पसलबाट सामान ल्याएर कागजात मिलाउने मात्र काम भयो शर्माले बताए ।

यस्तो खरीद कार्य नियन्त्रण हुनुको साटो पछिल्लो समय मौलाउँदै जानुले आर्थिक अनुशासनमा गम्भीर धक्का पुगेको र संस्थाको पारदर्शितामा समेत प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्