१४ बैशाख २०८१, शुक्रबार

 

बागलुङमा नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’

बागलुङ ।  नयाँ वर्ष २०७६ को अवसरमा बागलुङको पर्यटकीय स्थल घुम्टेमा सातौं ‘गुराँस उत्सव’ हुने भएको छ । लालिगुराँस संरक्षणका लागि बागलुङकोे एक समाजिक संस्थाले वर्षेनी ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।

पछिल्लो समयमा गुराँसका वनमा सडक विस्तार तथा फडानीले गर्दा गुराँसहरु मासिदै गएको समयमा सिंगो पहाडमा रहेका गुराँस संरक्षणमा यहाँको संस्थाले यस्ताे यस्तो कार्यक्रम गर्दै आएको हाे । समुन्द्री सतह देखि ३१ सय २० मिटरको उचाइमा अवस्थित जिल्लाकै अग्लो पहाडको रपमा समेत चिनिएको पर्यटकीय स्थल घुम्टेको लेकमा सातवर्ष देखि गुराँस संरक्षण तथा प्रचार प्रसारका लागि उत्सव गरिदै आएको छ । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३० र वैशाख १ गते चल्नेछ ।

पर्यटन विकास केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग निरन्तर माग गर्दै गुरास उत्सव मनाउदै आएको हो । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले अत्यन्त महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनको लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । वैशाख पूर्णिमामा घुम्टेको धुरीमा रहेको शिद्ध भैरवको मन्दिर दर्शन गर्न जानेको भीड नै लाग्ने गर्दछ ।

गुराँस उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षको दिन तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकले त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् । उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी समेत गरिने केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन व्यवसायी राज थापाले बताए ।

चैत–वैशाखमा घना वनक्षेत्रमा फुल्ने विभिन्न थरीका गुराँसले घुम्टेको लेक राताम्मे हुन्छ । घुम्टेमा दुर्लभ मानिने सेतो लालिगुराँस समेत पाइन्छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि बनाएको छ । यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पक्की पर्यटकीय पदमार्ग पु¥याउने लक्ष्य पनि लिइएको छ । घुम्टेको डाँडाबाट सूर्यादय, दुई दर्जन वढी हिमश्रृङ्खला सहित मनोरम दृश्य हेर्न पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्