१४ बैशाख २०८१, शुक्रबार

 

गौरवका आयोजनामा बनाउदैं गाउँपालिका

बागलुङको बडिगाड गाउँपालिकाले बनाएको वडा कार्यालय पुग्ने मुख्य सडक । गाउँपालिकाले चार तहका मापदण्ड बनाएर सडक खोल्ने काम थालेको छ ।

बागलुङ। बडिगाड गाउँपालिकाको आफ्नै लगानीमा गौरवका आयोजना शुरु भएका छन् । हरेक वडामा सडक पु¥याउने गरी बडिगाड गाउँपालिकाले एक वडा एक गौरवको योजनामा लगानी गरेको हो ।चालु वर्षभित्र सबै वडामा सडकको ट्रयाक पु¥याउने गाउँपालिकाको योजना छ।

आगामी वर्ष स्तरउन्नती गरेर वडा वडामा जिपमार्फत यात्रा गर्न सकिने, गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले बताए ।

गाउँपालिकाको वडा नं. ८ रणसिंकिटेनीमा अहिलेसम्म सडक संजालले छोएको छैन । त्यहाँ पुग्न जलजला र भीमगिठे तर्फबाट सडक लैजाने तयारी भैरहेको हो । ‘भूगोलको समस्याले हामीले अझै गाउँलेलाई कच्ची सडकको सुविधा पनि दिन सकेका छैनौं’ पाईजाले भने, ‘चालु वर्ष वडा कार्यालय सम्मको ट्रयाक खुलाईयो भने अर्को वर्ष बस्ती सम्म लैजाने योजना छ ।’ खनिएको ट्रयाक व्यवस्थित बनाउने अर्को चुनौती भएको उनले बताए ।

गाउँपालिकाले चालु वर्षको ४७ करोड ४१ लाख बजेट मध्ये ५० प्रतिशत पुजिँगत बजेटमा लगाएको छ । वडा स्तरीय गौरवका योजना बनाएर वडा नं. ३ सिसाखानी र वडा नं. १० दर्लिङलाई पनि सडक संजालमा ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । ‘क्रमगत रुपमा सम्पन्न गर्ने गरी एक वडाको एकवटा गौरवको आयोजनाको डिपिआर बनाउन लागिएको छ’ सुवेदीले भने, ‘वडाले पास गरेर ल्याएको पहिलो योजनालाई गाउँसभाले पनि पहिलो प्राथमिकतामै पुरा गर्ने निर्णय गरेको छ ।’

अन्य वडामा सडकले छोएपनि वडा कार्यालय सम्म लैजाने तरखर भएको हो । रणसिंकिटेनीमा भने अझै १ किमी सडकको ट्रयाक खुलेपछि मात्र वडा जोडिने छ ।गौरवको आयोजनामा सूचिकृत भएको योजनालाई न्युनतम २ करोड लगानी गर्ने नीति लिइएको पाईजाले बताए ।

तीनवटा वडामा भने गाउँपालिकाले पनि सडकलाई नै पहिलो प्राथमिकतामा राख्न आग्रह गरेपछि वडाभेलाले पनि सडक पास गरेर ल्याएका छन् । ती योजनामा दुइकरोडको दरले लगानी गरेर चालुवर्षदेखिनै काम थालिने भएको हो । ती वडाका सबै बस्तीमा सडक लैजाँदा बीस करोड बढी खर्च हुन सक्ने अनुमान गरिएको छ । वडा नं. ५ रहेको ग्वालीचौरले भने भानुक्याम्पसलाई गौरवको आयोजनामा समावेश गरेको छ । कृषि र भेटेनरी पढाई हुने गरी बनाउन लागिएको क्याम्पस पुरा गर्न २१ करोड रुपैँयाको लागत लाग्ने अनुमान छ । डीपीआर बनाइएको यो योजनाका लागि चालु बर्ष १ करोड बिनियोजन भैसकेको हो ।

सडक मापदण्ड कायम

गाउँसभाले वडिगाड गाउँपालिकामा ४ प्रकारको सडक मापदण्ड बनाएको छ । मुख्य सडकमा १२ मीटर, सहायक सडक भए १० मीटर कायम भएको हो । त्यस्तै वडा तहका मुख्य सडक भए ८ मीटर र सहायक सडक भए ६ मीटरको सडक बनाउने नीति बनाइएको सुवेदीले बताए । ‘मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय भएको छ’ सुवेदीले भने, ‘समयमै सडकको मापदण्ड लागू गर्न सकियो भने मात्र पछि बन्ने संरचना व्यवस्थित बन्नेछन् ।’

बडिगाड खोलामा पक्की पुल बनेकोले पछाडि परेको दर्लिङमा पनि सडक मापदण्ड अनुसारको काम थालिएको हो । बडिगाडकै हाँडीखोला देखि खल्टुबोट सम्मको खण्डमा भने मध्यपहाडी लोकमार्गको खण्ड पर्छ । उक्त खण्डमा गाउँपालिकाले मापदण्ड बनाएको छैन । राष्ट्रिय गौरवको आयोजनामा लागू हुने मापदण्ड अनुसारकै संरचना बनाउन गाउँपालिकाले सहमति दिएको छ । स्थानीयले पनि सोही अनुसारका संरचना बनाउन थालिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्