८ जेष्ठ २०८१, मंगलवार

 

स्वास्थ्य मन्त्रालयद्वारा डा केसीलाई अनसन अन्त्य गर्न आग्रह

काठमाडौं । अनशनरत डा गोविन्द केसीले उठान गरेका अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले  अनसन फिर्ता लिन पुनः आग्रह गरेको छ ।

समग्र चिकित्सा शिक्षा सुधारको माग पुनः उठान गरी डा केसीले नवौँ अनसन सुरु गरेकाे आज १० अाैं दिन हो ।

“म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्” – स्वास्थ्यमन्त्री गगन थापाले आज भने ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले “डा केसीले अनसन बस्नु पर्ने दिन आउने छैन” भनेर मन्त्री पदको शपथ लिएकै दिन आफूले बोलेको स्मरण गर्दै डा केसीको पछिल्लो मागमा चिकित्सा शिक्षा ऐन तयार भई संसद्मा पेस भएको जानकारी दिए।

“म पुन डा केसीलाई आग्रह गर्छु तपाईंका माग पूरा गर्छु, अनसन फिर्ता लिइदिनुस्” – मन्त्री थापाले भने। तर डा केसीको पटक पटकको अनसनले गर्दा स्वास्थ्य स्थिति जटिल बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । डा केसीका उपचारमा संलग्न डा दिव्या सिंहले डा केसीको मुटु, पिसाब र रगतमा समस्या देखिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्