नेकपा एमालेले गलकोट नगरपालिकाको मेयरका सम्भावित उम्मेद्वार नेता यमबहादुर श्रीस माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहिबार माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडा नेता रामबहादुर थापा बादलले उनलाई माओवादीमा स्वागत गरेका थिए । एमालेको बैसाख ३ गते बसेको गलकोट नगर कमिटीको बैठकले नगरपालिका प्रमुख बनाउने विषयमा उनको नाम चर्चामा थियो ।
नेकपा माओवादीले जनयुद्ध सुरु गर्ने बेला माओवादीको बागलुङ जिल्ला सेक्रेटरी रहेका श्रीस पार्टीका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय ब्युरो ईन्चार्ज डाक्टर बाबुराम भट्टराई र जिल्ला ईन्चार्ज हरिभक्त कँडेलको व्यबहार प्रति असन्तुष्टि जनाउँदै १० पेजको राजिनामा पत्र पार्टीलाई बुझाएर पार्टी भित्र त्यसको समिक्षा हुनुपर्ने माग गर्दै पार्टी परित्याग गरेका थिए ।
श्रीसले २०४८ सालको निर्वाचनमा बाबुराम नेतृत्वको तत्कालिन संयुक्त जनमोर्चाबाट बागलुङको निर्वाचन क्षेत्र–१ मा चुनाब लडेका थिए ।
आफ्नो राजीनामाको बिषयमा पार्टी भित्र सहि समिक्षा हुन नसकेको गुनासो गर्दै आएका उनले माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको सुरुमै एमालेको सदस्यता लिएका थिए ।
आफुलाई फर्काउन माओवादीको उच्च तहबाट पटक–पटक प्रयास भएपनि राजिनामा दिने बेलाको सहि समिक्षा नभएसम्म नफर्कने अडान राख्दै आएको उनले बताए ।













































































































































































































