२६ बैशाख २०८१, बुधबार

 

इकोलोजी, इकोनमी एन्ड सोसल इन्क्लुजन

दक्षिणकाली टौदहका कृष्ण गुरुङले स्विट्जरल्यान्ड गएपछि बुझे– ८ महिना हिउँले ढाक्ने, केही नफल्ने देश हाम्रो ठूलो दातामध्येमा पर्छ । हाम्रो भूगोल र त्यहाँको भूगोलमा फरक छ । हामीले प्रकृतिसँग माग्नुपर्ने केही छैन । हिमाल छ । पानी छ । सुगन्ध दिने माटो छ । प्रकृतिले सबै कुरा दिएको छ तैपनि हामी किन सधैं माग्ने ? स्रोत साधनले हामी विश्वका धनीमध्येका हौं । तैपनि हामी दाताको मुख ताक्ने देशमा पर्छौं ।
देशमै विकासको प्रचुर सम्भावना देखेका गुरुङ सपरिवार अमेरिका बस्थे । उनले त्यहाँका विभिन्न विश्वविद्यालयमा पढाए । पछि सपरिवारै नेपाल फर्किए । उनी आउजाउ गरिरहन्छन् अमेरिका । यहाँ बस्दा पनि उनी केही न केही सिर्जनशील काम गरिरहन्छन् । उनी एक दशकअघि बीबीसीले छानेको विश्वका १ सय १३ उत्कृष्ट सिर्जनशीलमध्येमा तेस्रो स्थानमा परेका थिए ।

यतिबेला टौदह जाँदा उनको एउटा उल्लेख्य सिर्जनशील काम हेर्न पाइन्छ । वातावरण (इकोलोजी) सँग आर्थिक क्रियाकलाप (इकोनमी) र आर्थिक क्रियाकलापसँग सामाजिक सेवा कसरी जोड्न सकिन्छ ? उनले यही कुरालाई मूर्त रूप दिएका छन् । गुरुङ परिवारले टौदह खहरेमाथिको पाखो हराभरा मात्रै बनाएको छैन, यही पाखोको आम्दानीले सामाजिक सेवा पनि गरेका छन् । यसले दिगो विकासमा कस्तो प्रभाव पारेको छ ? यसको अध्ययन गर्न विभिन्न देशबाट विद्यार्थी र अनुसन्धातासमेत आउँछन् ।

एकपटक यहाँ आउनेहरू गुरुङको सिर्जनशीलताबाट मोहित हुन्छन् । अनि पटक–पटक गइरहन्छन् । गत साता बालसाहित्यकार विनय कसुजु, प्रा.डा. चूडामणि बन्धु, प्रा. रामकुमार पाँडे, विजय आचार्य, नेत्र तामाङ, गंगा कसजु, अनन्त वाग्लेलगायत १९ जना साहित्यकार यहीं भेला भएका थिए । उनीहरूले बालबालिकालाई असल बनाउन कसरी साहित्य सिर्जना गर्ने भनेर छलफल गरे । यहीं बसेर १३ जना बालसाहित्यकारले कथा पनि लेखे ।

टौदह खहरेको बस स्टपबाट उत्तरतिर लाग्नासाथ सुरु हुन्छ केभिन–रोहन मेमोरियल इको फाउन्डेसन । सात वर्षीय छोरा केभिनको दुर्घटनामा मृत्यु भएपछि उनकै सम्झनामा खोलेका हुन् उनले यो फाउन्डेसन । शोकलाई यी कामले झन् शक्तिमा बदलेको उनी बताउँछन् । करिब १४ रोपनी क्षेत्रमा फैलिएको यो फाउन्डेसनमा छिर्नासाथ वातावरणमैत्री महसुस गर्न सकिन्छ । कोही खेतीपाती गरिरहेका भेटिन्छन् । कोही गाईको गोठमा हुन्छन् । कोही माहुरी पालनमा व्यस्त छन् । कोही फलफूल टिपिरहेका भेटिन्छन् । ‘यी सबै बायो अर्गानिक विधिबाट गरिएका खेती हुन्,’ कृष्णले सुनाए, ‘बायो अर्गानिक विधिबाट खेती नगरेकाले हामी पछि परेका रहेछौं ।’

८० वर्ष अघिसम्म रासायनिक मल भित्रिएको थिएन । त्यतिबेला खेती प्रणाली अर्गानिक थियो । त्यतिबेला सय दाना बीउ रोप्यो भने तीन दाना मात्रै फल्दैनथ्यो । पछि रासायनिक मल आयो । यसले सबै बिरुवामा दाना फल्ने त भयो तर माटो बिगार्‍यो । ‘मल हालेका छौं, तर कसरी फलेको छ भनेर हेरेका छैनौं, गुरुङ भन्छन्, ‘५० प्रतिशत रासायनिक मल बिरुवाले लिन्छ । २५ प्रतिशत हावामा जान्छ र २५ प्रतिशत जमिनमा जान्छ । यसले बिरुवा मात्रै होइन, हावा, जमिनसमेत बिगारिदिएको छ । यसको दुष्परिणामबाट बच्न अर्गानिक खेतीको बहस चल्यो । अर्गानिक खेती पुरानै हो । तर बायो अर्गानिकचाहिँ नयाँ पद्धति हो ।’
बिरुवा सप्रन हावा, पानी मल मात्रै हैन सूर्य र चन्द्रमाको मुभमेन्टको पनि प्रभाव परेको हुन्छ भन्ने मान्यताले खेती गरिन्छ बायो अर्गानिक पद्धतिमा । सूर्य–चन्द्रको मुभमेन्ट बुझेर प्लान्टिङ क्यालेन्डर बनाइन्छ । बीउ रोप्ने समय हुन्छ । गोडमेल गर्ने समय हुन्छ । र, टिप्ने पनि समय हुन्छ । ‘गाँजर बिहान टिप्नु र बेलुका टिप्नुमा फरक हुन्छ,’ उनी उदाहरण दिन्छन्, ‘चन्द्रमाको प्रभावले गाँजरको पोषक तत्त्व बिहान पाततिर जम्मा भएको हुन्छ । बिहान गाँजर टिप्यो भने ३० प्रतिशत पोषक तत्त्व खेर जान्छ । फेरि सूर्यको गतिशीलताको प्रभावले पातबाट पोषक तत्त्व जरातिर जान्छ । बेलुका टिप्यो भने शतप्रतिशत पोषक तत्त्व गाँजरमा पाइन्छ । यो अध्ययनले गरेको पुष्टि हो । यो विज्ञान बुझेर खेती नगर्दा हामी पछि परेका हौं ।’
यो पद्धतिले इकोलोजी बिग्रँदैन । इकोलोजी नबिग्रने गरी गरिएको खेतीपातीलाई उनले आर्थिक गतिविधिसँग जोडेका छन् । उत्पादित अन्नपात यहीं खपत हुन्छ । पर्यटकका लागि क्याफे खोलेका छन् । आन्तरिक तथा बाह्य पर्यटक आउजाउ भइरहन्छन् । त्यसले आर्थिक गतिविधि बढाएको छ । आर्थिक गतिविधिलाई सेवासँग जोडिएको छ । यहाँ भएको आम्दानीको केही प्रतिशत सामाजिक काममा लगाएका छन् ।
हरेक महिना स्वास्थ्य शिविर हुन्छ । औषधि नि:शुल्क बाँड्छन् । यहाँबाट स्वास्थ्य सेवाका लागि झन्डै ७ किलोमिटर यात्रा गरेर बल्खु आउनुपर्छ । त्यहीं भएको चाल्नाखेल स्वास्थ्य चौकीको सेवा राम्रो छैन । ‘अब पोलिक्लिनिक खोल्न लागेका छौं,’ गुरुङ भन्छन्, ‘यसले स्थानीयवासीलाई स्वास्थ्य सेवा दिनेछ ।’
बालबालिकाका लागि शिक्षाको व्यवस्था पनि गरिएको छ । सक्नेले पैसा तिर्ने, नसक्नेका लागि नि:शुल्क पढाउने व्यवस्था गरिएको छ । अंकुरण किन्डरगार्डेनमा रहेका ९० जना विद्यार्थीमध्ये १४ जना नि:शुल्क पढ्छन् । पैसा तिर्न नसक्नेले त्यहाँको फर्ममा श्रम गर्नु भने पर्छ । महिनामा ४ दिन अभिभावकले श्रम गर्नुपर्ने नियम बनाइएको छ । ‘मेरो पनि लगानी छ भन्ने भावना जागोस् भनेर यसो गरिएको हो,’ गुरुङ भन्छन् ।
स्कुलमा १४ जनाले जागिर पाएका छन् । फर्ममा ५४ जनाले काम गर्छन् । तिनीहरूले बायो अर्गानिक खेती गर्ने तरिका पनि सिकेका छन् । यहींका बालबालिकालाई गुणस्तरीय शिक्षा दिइएको छ । अबको बीस वर्षपछि गुणस्तरीय जनसंख्या यहीं बनोस्, त्यही जनसंख्याले यो ठाउँ पनि बनाओस् भन्ने सोचाइ रहेको उनी बताउँछन् । ‘यही हो इकोलोजी, इकोनोमी र सोसल इन्क्लुजन भनेको,’ उनी भन्छन्, ‘यस्तो विकास दिगो हुन्छ ।’
दिगो विकासको नमुना हेर्न यहाँ विभिन्न देशबाट स्वयंसेवक र अनुसन्धानकर्मी आउँछन् । ‘हामी पैसा लिएर उनीहरूलाई सिकाउँछौं,’ उनी भन्छन्, ‘अहिलेसम्म ४६ देशबाट १२ सयभन्दा बढी यहाँ अध्ययन गर्न आएका छन् । अध्ययन गर्न आउनेमा १४ देखि १८ वर्षसम्मका बढी छन् ।’

कान्तिपुर शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्