भाद्र ६, २०७४- भारतको सर्वोच्च अदालतले मंगलबार मुस्लिम धर्माबलम्बीहरुको शरिया कानुनअनुसार तीन पटक तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेदलाई असंवैधानिक घोषणा गरेको छ ।
विभिन्न समयमा यसैगरी सम्बन्ध विच्छेद गरिएका पाँच महिलाले दायर गरेको मुद्दामा भारतीय सर्वोच्च अदालतको पाँच न्यायाधीशमध्ये ३–२ को बहुमतको आधारमा उक्त फैसला गरिएको हो ।
भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार यसरी तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेल संविधानको धारा १४ ले सुनिश्चित गरेको समानताको हकविरुद्ध रहेको उल्लेख गरिएको छ । यस फैसलालाई भारतीय मुस्लिम महिलाहरुले भने ऐतिहासिक जीतको संज्ञा दिएका छन् ।
यस प्रकारको प्रथाजनिक व्यवस्थाले नेपाली मुस्लिम महिलाहरुलाई पनि आक्रान्त बनाएको छ । बिशेष गरेर भारतसँग सीमा जोडिएका जिल्लाहरुमा हरेक वर्ष यसप्रकारका दर्जनौं घटनाहरु बाहिर आउने गरेको छ ।
सदियौंदेखि चल्दै आएको यो परम्पराको बिरुद्धमा सर्वोच्चको अदालतको ढोका ढक्ढक्याउने साहसी महिलाहरुको बारेमा पनि चर्चा सुरु भएको छ ।
यहाँ तिनै महिलाहरुको बारेमा बिभिन्न भारतीय तथा अन्तर्रााष्ट्रिय सञ्चार माध्यममा आएको समाचारको आधारमा जानकारी दिइएको छ ।
आफरीन रहमान, जयपुर, राजस्थान
उनको बिहे २०१४ सालमा जयपुरको एक पाँच तारे होटलमा धुमधामका साथ भएको हो । त्यसबेला उनी एमबीए पूरा गरेर जागिर खाइरहेकी थिइन् । वकिल पतिसंगको नयाँ जिन्दगीका लागि यि सबै कुरा छाडिन् ।
तर, बैबाहिक जीवन भनेजस्तो भएन । दाइजो मगेर हैरानै बनाए । ‘दाइजो ल्याउन नमान्द कुटपिट सुरु भयो । त्यसैले म डिप्रेसनमा गएँ’ उनले भनिन् । बिहेको एक वर्षभित्रै उनलाई माईती पठाइयो । एउट दुर्घटनामा आमा बितिन् । बाबु पहिले नै बितिसकेका थिए । उनी एक्लै परिन्, त्यही बेला लोग्नेको पत्र आयो । त्यसमा लेखिएको थियो, ‘तलाक तलाक तलाक’ । पछि उनलाई सहयोगी हातहरु प्राप्त भए । अनि उनी त्यसको बिरुद्ध सर्वोच्च अदालत पुगिन् ।
अतिया साबरी, सहारनपुर, उत्तर प्रदेश

अतिया । तस्बिर: बीबीसी ।
अतियाको अढाई वर्षे बैबाहिक जीवन राम्रो हुन सकेन । त्यसको कारण उनले २ छोरी जन्माउनु थियो । पतिका परिवारका सबै सदस्यहरु मिलेर उनलाई कुटपिट गर्थे । एक पटक त उनलाई घरबाटै निकालि दिए । त्यसपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भइन् ।
केही समयपछि भाईकोमा एउटा लिखत आयो । दश रुपियाँको टिकट टाँसिएको थियो । त्यसको तल ‘तलाक तलाक तलाक’ लेखिएको थियो । अतिया भन्छिन्, ‘शरिया अनुसार सम्बन्ध बिच्छेदका लागि दुई जनाबीच सहमति हुनुपर्दछ । तर, मसंग कुरा भएकै छैन् ।’
त्यसैले उनी आफ्नो सम्बन्ध विच्छेद मान्न तयार छैनन् । उनले यो प्रथालाई असंवैधानिक घोषणा गर्न माग गरेकी छन् । साथै उनले मुस्लिम महिलाहरुलाई सम्बन्ध बिच्छेदको समान अधिकारको फैसला गर्न माग गरेकी छन् ।
शायरा बानो, काशीपुर, उत्तराखण्ड

शायरा । हिन्दुस्तान टाइम्स ।
शायरा एक छोरा र छोरीलाई पतिसंगै घरमा छाडेर माइत आएकी थिइन् । उनी माथि घरेलु हिंसा त थियो नै पतिले बाहिर निस्कन पनि दिंदैन थे । तर, माइत आएको मौका पारेर पतिले द्रुत हुलाकमार्फत एउटा चिट्ठी पठाए । त्यसमा तीन पटक तलाक लेखिएको थियो ।
आफ्ना बच्चाहरुको लागि घरेलु हिंसा त पचाएकै थिइन् । तर, अव सम्बन्ध बिच्छेद नै गराएपछि त्यसको विरुद्ध न्यायलयको ढोका ढक्ढकाइन् । उनी अहिले फेरी एमवीएको पढाइतिर समेत लागेकी छिन् । ‘लड्नका लागि पनि त तयार हुनु पर्यो’ उनी भन्छिन् ।
इशरत जहां, कलकत्ता, पश्चम बंगाल
दुवईमा रहेका पतिले फोनमा तीन पटक तलाक भनिदिएपछि उनको १५ बर्ष लामो बैबाहिक जीवन टुङ्गियो । इशरतका अनुसार तीन छोरीहरुको जन्मपछि समस्या सुरु भएको हो । यतिसम्म की पतिले आफ्ना भइसंगसमेत शारीरि सम्पर्क राख्न बाध्य बनाए ।
सन् ०१५ मा छोरा त जन्म्यो । तर, यो धेरै ढिला भइसकेको थियो । पतिले अर्को विहे गर्ने तयारी गरिसकेका थिए । अनि तीन चोटी तलाक लेखेको पत्र हातमा पर्यो । अनि उनी अदालतको ढोक ढक्ढक्याउन पुगिन् ।
गुल्शन परभीन, रामपुर, उत्तर प्रदेश
गुल्शन दाइजोका कारण दुई बर्षदेखि घरेलु हिंसाको शिकार भइरहेका थिए । अंग्रेजी साहित्यका पोष्टग्राजुयट उनका अनुसार दश रुपैयाँको टिकट टाँसेर उनको तलाकनामा पतिले माइतीमा छाडेका थिए ।
उनले आफु र आफ्नो दुई बर्षको छोरा दुवै घरवार बिहीन भएको बताएकी छिन् । उनले त्यो तलाक लेखेर गरिएको सम्बन्ध बिच्छेदको विरुद्धमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याएकी हुन् ।
साभार : ईकान्तिपुर













































































































































































































