२९ बैशाख २०८२, सोमबार

 

माओवादी अभियान काँठेखोलाबाट, ‘जनताको कामसँगै परिवर्तन संस्थागत गछौँ’ : नेताहरु

नेकपा माओवादी केन्द्र बागलुङले पार्टीको संगठन विस्तार तथा प्रशिक्षण अभियान काँठेखोला गाउँपालिकाबाट सुरु गरेको छ । जिल्ला सचिवालयको पछिल्लो बैठकले तय गरेको कार्यक्रम अनुसार स्थानीय तह स्तरको पहिलो कार्यक्रम काँठेखोलामा भएको पार्टीको जिल्ला कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरले जानकारी दिए ।

अक्षेतेमा भएको गाउँपालिका स्तरिय भेलाले पार्टीको जनवर्गीय संगठन निर्माण गरेको छ । कार्यक्रममा जिल्ला नेताहरुले पार्टीको नीति, बर्तमान राजनीतिक अवस्था, केन्द्र, प्रदेश र जिल्ला बैठकको परिपत्र बारे जानकारी सहित सहभागीलाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रमा जिल्ला ईञ्चार्ज फमलाल निउरेले माओवादीलाई जनताको दुख सुख बुझ्ने पार्टी बनाउने अभियान सुरु भएको बताए । स्थानीय स्तरमा माओवादी पार्टी र जनवर्गीय संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । ‘विगतका कमजोरीलाई सच्याएर पार्टीलाई गति दिने कार्यक्रम जिल्लाले तय गरे अनुसार जिल्ला भर अभियान थालेका छौँ,’ उनले भने, ‘स्थानीय साथीहरुलाई पनि जनताका वास्तविक समस्यासँग जोडिएर पार्टी निर्माणमा लाग्न निर्देश गर्दछु ।’

जिल्ला जनपरिषद संयोजक तथा पार्टीका सहईञ्चर्ज चन्द्रबहादुर बुढा मगर ‘सागर’ ले माओवादीले उठाएका र अहिले राट्रिय राजनीतिको केन्द्रमा स्थापित परिवर्तनका मुद्धालाई स्थानीय तहमा कार्यान्वयन गर्न जनपरिषद गठन गरिएको बताए । ‘हाम्रीले उठाएको एजेण्डामै संविधान बनेर मुलुकमा संघियता लागु भएको छ,’ सागरले अगाडी भने, ‘समानुपातिक समावेशी, धर्मनिरपेक्षता लगायत पछिल्ला परिवर्तनलाई संस्थागत गर्न जनपरिषद बनाउनु परेको हो ।’

उनले माओवादीको प्रतिनिधित्व नभएको स्थानीय तहमा जनपरिषद मार्फत पार्टीले जनताको कामसँगै परिवर्तनलाई संस्थागत गर्ने बताए ।
जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ ले मंसिरमा हुने केन्द्र र प्रदेश चुनाब तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले विगतमा भएका त्रुटीलाई सच्याउँदै पार्टी एकताबद्ध भएर जनताविच जान लागेको बताए ।

जनपरिषद् सहित आधा दर्जन जबस बनाईयो
माओवादीले जिल्ला सचिवालयको निर्णय अनुसार काँठेखोला गाउँपालिकामा जनपरिषद सहित आधा दर्जन जनबर्गीय संगठन बनाएको छ ।
स्थानीय तहमा पार्टी र जनताको सम्बन्धलाई सुमधुर बनाएर विकास निर्माण तथा जनताको काम गर्न संगठन विस्तार गरिएको माओवादीले जनाएको छ । नन्दलाल विकको संयोजकत्वमा १७ सदस्यीय गाउँपालिका स्तरीय जनपरिषद गठन भएको माओवादीका जिल्ला कार्यालय सचिव शिखरले बताए ।

उनका अनुसार महेन्द्र लामिछानेको संयोजकत्वमा १५ सदस्यीय वाईसिएल, पवित्रा थापाको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी र दिलबहादुर विकको संयोजकत्वमा १३ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा बनाईएको छ ।

त्यस्तै माओवादीले हरि रानाको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल किसान सघं क्रान्तिकारी, टिका थापाको संयोजकत्वमा १३ सदस्यीय नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चा र कली थापाको संयोजकत्वमा शहिद वेपत्ता तथा घाईते परिवारको स्थानीय तह स्तरिय समिति बनाएको छ ।

शिखरले जनपरिषद वडा स्तरसम्मै बन्ने बताएका छन् । उनले संगठन सुधार अभियान अन्तरगत पार्टी तथा जबसको वडा स्तरसम्म भेला एवं प्रशिक्षण गरिने र टोलटोलमा सेल कमिटी बनाईने बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung