२७ बैशाख २०८१, बिहीबार

 

गलकोट घुम्टे महोत्सव बारे नयाँ तरङ्ग : दुवै पक्षले थाले आ–आफ्नै तयारी, अब के हुन्छ ?

गलकोटमा ‘बृहत महोत्सवस’ को चर्चा सुरु भएको छ । पहिलो ‘गलकोट घुम्टे महोत्सव’ भएको एक दशकपछि यसको दोस्रो संस्करण गर्ने छलफल हुन थालेको हो । पहिलो गलकोट घुम्टे महोत्सव २०६३ सालमा भएको थियो ।

गलकोट भन्दा बाहिरको व्यवसायीक कम्पनी हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्राली पोखराले यहाँ आएर महोत्सव गर्ने तयारी गरेपछि सामाजिक तहमा यो चार्च सुरु भएको हो । यो कम्पनीले गदौ २२ गतेदेखि असोज ११ गतेसम्म गलकोट घुम्टे महोत्सव गर्ने भन्दै आफ्नै ढंगले प्रचार प्रसार र तयारी थालेको थियो ।

यसले स्थानीय सामाजिक संस्था र तिनका अभियन्ता तरंगित बने । कतिपयले हिमालयनसँग छफलफ समेत गरे । स्थानीय सरकार, समाजिक संघ संस्था र सरोकारवालाले गलकोट घुम्टे महोत्सव गलकोटको पहिचानसँग जोडिएकाले व्यवसायीक संस्थालाई गर्न दिन नहुने तर्क गर्न थाले ।

यसअघि नै २०६३ सालमा पहिलो गलकोट घुम्टे महोत्सव भएको र त्यसको निरन्तरताको रुपमा स्थानीय सरकार, गलकोट घुम्टे पर्यटन विकास केन्द्र तथा अन्य सामाजिक संघ संस्थाको योजना र सहकार्यमा यो कार्यक्रम गर्नुपर्ने छलफल सुरु भयो ।

आफुहरुलाई गलकोट घुम्टे महोत्सवको नाममा कार्यक्रम गर्न नदीने चलखेल सुरु भएको भन्दै हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्राली पोखराले कार्यक्रम र कार्यतालिका बदल्यो । अहिले उसले असोज १८ गतेदेखि २८ गतेसम्म गलकोट साँस्कृतिक महोत्सव गर्ने नयाँ तयारी थालेको छ ।

साँस्कृतिक महोत्सवमा डान्स आईडियल, लोकदोहोरी तथा पुरुश भलिवल प्रतियोगिता बाल मनोरञ्जन लगायत कार्यक्रम गर्ने तयारी थालेको कम्पनीका सचिव मोहन खत्रीले बताए ।

‘हामीले गर्न लागेको महोत्सव विभिन्न कारण स्थगित गर्नुप¥यो,’ खत्रीले भने, ‘अब असोज १८ देखि २८ गतेसम्म साँस्कृतिक महोत्सव गर्ने तयारी थालेका छौँ ।’ उनले एक दशक अघि महोत्सव भएर अहिलेसम्म हुन नसकेका बेला आफुहरुले त्यस्तै कार्यक्रम गर्न खोज्दा स्थानीय स्तरमा कुरा नमिलेपछि यसअघि तोकेको कार्यक्रम र समय बदल्नु परेको बताए ।

गलकोट घुम्टे महोत्सव बाहिरबाट आएको संस्थाले गर्ने तयारी गरेपछि गलकोट घुम्टे पर्यटन विकास केन्द्रपनि तात्यो । गलकोटको पर्यटन प्रबद्र्धन गर्ने उदेश्य सहित यस्ता काम समेत गर्दै आएको यो सस्थाले भदौ २३ गते शुक्रबार हटियामा एक अन्तरक्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

अन्तरक्रियाका सहभागीले गलकोटसँग सम्बन्धित विषयगत सामाजिक संस्थाले महोत्सव गर्नुपर्नेमा जोड दिएका थिए । उनलेहरुले विगतदेखि नै गलकोटको पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको ‘गलकोट घुम्टे पर्यटन विकास केन्द्र’ ले महोत्सवको अगुवाई गर्नुपर्ने बताएका थिए । सवै पक्षलाई समेट्ने गरि महोत्सव गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

नगरप्रमुख शर्माले पर्यटन प्रवद्र्धन तथा व्यवसायीक विकासको लागि नगरलेपनि मेला महोत्सवको कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको बताए । ‘यहाँको पहिचान, मौलिकता र स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्नकै लागि महोत्सव प्रकारका कार्यक्रम हुनु अनिवार्य छ,’ शर्माले भने, ‘यसैलाई ध्यानमा राखेर हामीले महोत्सव गर्ने योजनालाई नगरपरिषदबाटै पास गरेका छौँ ।’

ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले समग्र गलकोटको विकास र समृद्धिलाई अघि बढाउन सहयोगी हुने गरि महोत्सवमा हुने कार्यक्रम तय गर्नुपर्ने बताए । उनले पर्यटनको क्षेत्रमा गरिने विकासले स्थानीय आम्दानी बृद्धि हुने धारणा राखे ।

काँग्रसका फमबहादर खत्री, एमालेका वुलबहादुर केसी, माओवादी केन्द्रका गंगा भुजेल, राजमोका टंक केसी र नयाँ शक्तिका बमबहादुर गुरुङले गलकोटको समृद्धि र विकासको लागि स्थानीय व्यवस्थापनमा सवै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिए ।

उनीहरुले एक पटक भएर अहिले सम्म रोकिएको महोत्सव अघि बढाउन गलकोट घुम्टे पर्यटन विकास केन्द्रलाई सुझाव दिए । सामाजिक अगुवा यामबहादुर श्रीसले कार्यक्रममा अवधारण पत्र प्रश्तुत गरेका थिए । उनले गलकोट क्षेत्रको कला सँस्कृति, मौलिकता, भेषभूषा, हस्तकालाका उत्पादन लगायत सवै पक्षलाई समेटेर महोत्सव गर्नु पर्ने बताए ।

सो अवसरमा वडा अध्यक्षहरु, गलकोटका विभिन्न संघ संस्थाकाका प्रमुख तथा प्रतिनिधिले पनि महोत्सव बारे धारणा राखेका थिए । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले सरोकार भएको पक्षको सुझावका आधारमा आगमी बर्ष (२०७५सालमा) बृहत दोस्रो गलकोट घुम्टे महोत्सव गरिने बताए । ‘सवैतिर आवश्यक समन्वय र तयारी गरेर तत्काल महोत्सव गर्नुपर्छ भन्ने सुझाव हामीले पाएका छौँ,’ थापाले भने, ‘यही बर्षदेखि तयारी थालेर अर्को बर्ष दोस्रो गलकोट घुम्टे महोत्सव गर्नुपर्छ ।’गलकोट घुम्टे पर्यटन विकास केन्द्रले महोत्सव गर्ने बारे अब सक्रियता लिने थापाले बताए ।

गलकोटको पहिचना र समृद्धिसँग जोडिएका बृहत कार्यक्रम गर्ने सन्दर्भमा अर्को कुनै पक्षले विषयलाई सतहमा ल्याईदिएपछि छलफल थाल्ने भन्दा पनि सामाजिक महत्वका कुरालाई नियमित तालिका बनाएरै अघि बढाउन स्थानीय सरोकारवाला गम्भिर बन्नुपर्ने देखिन्छ । यस्ता कुरामा प्रतिक्रियात्मक हुनुभन्दापनि योजनाबद्ध रुपमा अघि बढ्नु सामाजिक संघ संस्था र त्यसका अभियन्ताको दायित्व हो । यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्