
दोस्रो संविधान दिवश बागलुङमा प्रभातफेरी सहित एक औपचारिक समारोह गरेर मनाईएको छ । जनताका प्रतिनिधिले निर्वाचित गरेको संविधान सभाबाट संविधान बनेर लागु भएको दिनको सम्झनामा संविधान दिवश मनाईएको हो । विक्रम संवत २०७२ साल असोज ३ गते नेपालको दोस्रो संविधान सभाले बनाएको नयाँ संविधान प्रथम राष्ट्रपती डाक्टर रामबरण यादवले लागु भएको घोषणा गरेका थिए ।
संविधान दिवशको अवसरमा जिल्ला समन्वय समिति बागलुङले संविधान विशेष कार्यक्रमको आयोजना गरेको हो । जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालयमा औपचारिक कार्यक्रम गरियो ।
कार्यक्रमका वक्ताले नयाँ संविधानको स्विकार्यतालाई बढाउँदै कार्यान्वयनको चारणमा काम अघि बढेको बताए । ‘सुरुमा संविधानमा आफ्ना भावना नसमेटिएको भनेर आन्दोलनमा उत्रेका मधेशी दल समेतको सहभागीतामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ,’ उनीहरुले भने, ‘प्रदेश र केन्द्रीय संसदको निर्वाचनको मिति पनि तय भईसक्यो, यसले संविधानप्रतिको स्विकार्यतालाई बढाउँदै कार्यान्वयनको चरण अघि बढेको छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले संविधान कार्यान्वयनमा सवै जुट्नुपर्ने बताए । उनले विभिन्न चरणमा स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको पहिरो चरण पुरा भएको बताए । प्रजिअ थापाले प्रदेश सभा र संघीय संसदको निर्वाचन पछि मुलुक नियमित गतिमा अघि बढ्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनक पौडेल, अधिबक्ता कृष्णप्रसाद निउरे, नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमालेका जिल्ला सचिव कृष्ण पाठक, नेकपा माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे अनिल, राष्ट्रिय जनमोर्चाका सचिव धर्मबहादुर कुँवर, नयाँ शक्तिका बमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, अन्तरपार्टी पहिला संजाल बागलुङका अध्यक्ष भविकला रोकाले संविधार बारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षता र सुचना अधिकारी अखिलनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।