गलकोट–घुम्टेलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले काठमाडौं–घुम्टे साइकलयात्राको टोलीले सातौं दिनमा घुम्टेको टा“कुरा चुम्यो । टोलीमा १४ जना छौं । नेपाल पर्यटन बोर्डको आ“गनबाट घुम्टेसम्म साइकल यात्रा गर्दाको रोमाञ्चले हिमाली सिरेटो पनि न्यानो लागिदिन्छ । साइकलका पाइडल घुमाउ“दै त्यति टाढासम्म फेरो मार्ने आ“ट गर्नु चानचुने कुरा थिएन ।
बागलुङ बजारदेखि करिब दस कोस दक्षिण–पश्चिममा अवस्थित गलकोट भौगोलिक, सांस्कृतिक, जैविक र धार्मिक महत्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यसको पर्यटकीय आकर्षण भनेकै घुम्टे पहाड हो । समुद्र सतहदेखि तीन हजार एक सय बीस मिटर उचाइमा अवस्थित घुम्टे पूर्वमा बिहु“, काठेखोला दक्षिणमा सल्यान, सुखौरा, दुधिलाभाटी, हरिचौर, पाण्डवखानी, हिल उत्तरमा दरौखोला एवं पश्चिममा ढोरपाटनसम्म फैलिएको छ । 
बिहानको सूर्य घुम्टेको डा“डामै उदाउ“छ । सूर्यको लालीले यहा“का रुख पाखाहरू नुहाएझैं हुन्छन् । अझ जाडो महिनामा लाग्ने मधुरो कुहिरोमै लुकेझैं लाग्छ घुम्टे । बादलको घुम्टोले यसलाई बेहुलीझैं शृङ्गारिदिएको हुन्छ । सायद बादलको घुम्टोमै लुक्ने भएकोले यसलाई घुम्टे भनियो कि ?
घुम्टेलाई पर्यटकीय आकर्षण केन्द्र बनाउन थुप्रै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलका साथै अनेकौं प्रकारका जीवजन्तु, चराचुरुङ्गी तथा यस क्षेत्र वरपर मनाइने विभिन्न चाडपर्वहरू पर्याप्त छन् । स्थानीय हुक्केनली, गलकोटका डोका, नाङ्ला, सोली, भकारी भनेपछि यो क्षेत्र आफैंमा प्रख्यात छ । यस्तै, विभिन्न प्रजातिका गुरा“स र सुनाखरी पाइने क्षेत्रका रूपमा पनि घुम्टे परिचित छ । 
धार्मिक पर्यटनका दृष्टिले पनि घुम्टे उत्तिकै महत्वपूर्ण छ । उत्तरतर्फ फर्किएको मामा सिद्धको मन्दिर र दक्षिणतर्फ फर्किएको भान्जा कालभैरवको मूर्तिलाई पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । यिनै सिद्ध–भैरवप्रतिको आस्थाका कारण गलकोटका प्राय गाउ“हरूमा वर्षको दुईपटक बाली र पानीको सामूहिक पूजा गर्ने चलन छ । प्रत्येक वर्ष बैशाख चण्डिपूर्णिमा एवं बुद्धपूर्णिमाको अघिल्लो दिन घुम्टेमा सिद्ध र भैरवको पुजाआजा गरिन्छ ।
घुम्टेको थुम्कोबाट छिमेकी जिल्ला पर्वत, कास्की, बागलुङ, म्याग्दी, गुल्मी, र अर्घाखा“चीका प्राय गाउ“हरू अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण हिमशृङ्खलाअन्र्तगतका १६ वटा हिमाल हाम्रै स्वागतार्थ उभिएझैं लाग्छन् । त्यस्तै यस वरपरका पहाडी जीवन र दैनिकी हेर्न लायक छन् ।
घुम्टेका अन्य प्रमुख पर्यटकीय स्थलमा सानो घुम्टे पनि उत्तिकै प्रख्यात छ । यसका साथै सिद्धेश्वर गुफा, राम्चे ओढार, गोठथरी, बहुलाबाबाको आश्रम, भिमसेनलौरी, दमाहा ढुङ्गा, नाउगेभीर, हात्तीसु“ढे, पहिराको सोतो, शालिग्राम पत्थर, गलकोट दरबार, हरिचौर बजार, गाईघाटको झरना, दरमखोला, मजुवाफा“ट, भुजुङ स्लेटखानी लगायत थुप्रै सम्पदास्थल छन् । यी पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु गलकोटवासीकोे दायित्व बनेको छ ।
पहाडी आकर्षक भू–स्थलले सिङ्गारीएको घुम्टे–गलकोट क्षेत्र देशको नमुना गन्तव्य स्थल बन्न सक्छ । जसका लागि राज्यको विकास दृष्टि त्यहा“ पर्नु आवश्यक हुन्छ । अहिले मध्यपहाडी राजमार्गको केन्द्रमा रहेकाले पनि यसको महत्व झनै बढेको छ ।













































































































































































































