
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक बागलुले उसकै शब्दमा भ्रष्टाचारी, कालो बजारी र दलालहरु आफ्नो निसानामा रहेको दाबी गरेको छ ।
संगठनले उसको तेस्रो जिल्ला सम्मलनको जानकारी दिन बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो । संगठनका जिल्ला अध्यक्ष सुमित घर्तीले बागलुङ जिल्ला भित्र यस्तो गतिविधिमा लाग्नेहरुको सूची आफ्नो पार्टीले बनाएको दाबी गर्दै उनीहरुलाई कारवाही गर्ने बताए । ‘जनताको काम ईमान्दारीतापूर्वक कहिँकतैबाट हुँदैन, सवैतिर दलाल छन्,’ उनले भने, ‘हामीले जिल्ला भित्रका त्यस्ता व्यक्तिको सूची नै बनएका छौँ, उनीहरु हाम्रो निसानामा छन् ।’
कार्यक्रममा नेकपा बागलुङका जनपरिषद् प्रमुख बाबुलाल शाक्यले आफ्नो पार्टीले बर्तमान संविधानलाई नै अस्वीकार गरेको भन्दै संसदीय व्यवस्था अन्तरगत आगामी मंसिरमा हुन लागेको निर्वाचन खारेज गर्ने चेतावनी दिए । ‘यो दलाल संसदीय व्यवस्थाले जनताको सेवा गर्दैन, खाली कस्लाई मन्त्री अथवा सांसद बनाउने र भएकाले सकेजती लुट्ने÷कमाउने मात्र हो,’ उनले भने, ‘हामीले यो व्यवस्थाको खारेजी गरेर एकीकृत जनक्रान्ति मार्फत नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था ल्याउने रणनीतिमा छौँ ।’
सो अवसरमा राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङको तेस्रो जिल्ला सम्मेलन शुत्रबार बागलुङ बजारमा हुने जानकारी गराईएको थियो ।सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले गर्ने संगठनका जिल्ला अध्यक्ष घर्तीले जानकारी दिए । सम्मेलनले आगमी कार्ययोजना निर्माण गर्दै नयाँ नेतृत्व चयन गर्ने गर्ने राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङले जनाएको छ ।