ताराखोला गाउँपालिकाको वडा नम्बर–५ मा रहेको नवसृजना युवा क्लबको १४ औँ बार्षिकोत्सव तथा दीपावली मेला कार्तिक ५ गते आईतवारदेखि सुरु हुँदैछ ।
मेला ९ गतेसम्म चल्ने छ । सो अवसरमा ताराखोलाको दोगाडीदेखि नागवेलीखोला हुँदै म्याग्दी जोड्ने मोटरबाटोको पनि उद्घाटन गर्ने तयारी गरिएको छ ।

क्लबको पञ्जेबाजा समुह

मेलाको सवै तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिए । ‘मेलाको सवै तयारी पुरा भईसकेको छ,’ उनले भने, ‘सबै प्रतियोगितात्मक कार्यक्रमका लागि नगद प्रयोजन जुटायौँ, प्रचार प्रसारको काम सकियो, खेलमैदान र मञ्च व्यवस्थापन तथा स्थानीय सरसफाई अन्तिम चारणमा छन् ।’
ताराखोला क्षेत्रमा चर्चित मेलाको रुपमा मनाईने दीपावाली मेलामा यस वर्ष नयाँ संरचना अनुसार वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगित, खुल्ला महिला भलिवल, लोकदोहोरी गीत प्रतियोगिता, धनुषबाँण र कृषि उपजको प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।

क्लबले बनाएको सार्वजनिक सौचालय
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको साँस्कृतिक सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । क्लवले बिहीबारदेखि स्थानीय रुपमा देउसी भैलो कार्यक्रम सुरु गरेको छ । दीपावली मेलाको उद्घाटन कार्तिक ८ गते ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले गर्ने तय भएको छ ।
‘दिगो समावेशी विकास र मानविय सेवामा पवित्र मन, समाज रुपान्तरणसँगै खेलकुद कला र संस्कृतिको संरक्षणका लागि युवा संगठन’ भन्ने उद्घोष सहित स्थापना भएको क्लब सामाजिक कार्यमा सक्रिय छ ।

अध्यक्ष पूर्णभद्र निउरे
क्लवले वार्षिक कार्यतालिका नै बनाएर आवद्ध सदस्यको प्रतिभा विकासका लागि विभिन्न विषयगत कार्यक्रम गर्दै आएको छ । स्थानीय संस्कार अनुसारको पञ्चेबाजा समुह बनाएर शुभकार्यमा विभिन्न ठाउँमा पुगेर बजाउँदै आएको छ ।
बाजा समुहमा क्लवमा आवद्ध सदस्यहरु नै सहभागी छन् । ‘हाम्रो संस्कृतिलाई संरक्षण गर्नुपर्छ भनेर हामीले पञ्चेवाजा बजाउने टिम नै बनाएर गाउँघरमा हुने शुभकार्यमा सहभागी हुने गरेका छौँ,’ निउरेले भने, ‘दीपावाली मेलामा पनि हाम्रो बाजाको बिशेष प्रस्तुति रहने छ ।’
स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्न कृषि उपजको प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको क्लवले जनाएको छ ।













































































































































































































