२२ बैशाख २०८१, शनिबार

 

विल गेट्सलाई पछार्दै धनी नम्बर वान बने ग्यारेजबाट व्यवसाय थलेका अमेजन सिइओ जेफ बेजोस

अमेजनका अध्यक्ष तथा सिइओ जेफ बेजोसकालागि गत शुक्रबार बिशेष रह्यो। सियाटल एरियामा रहेका आफ्नै अर्बपति छिमेकी बिल गेट्सलार्इ उनले माथ दिए विश्वकै धनी मानिसको रुपमा नयाँ रेकर्ड कायम गरेर।

अमेरिकी शेयर बजारमा अमेजनको शेयरको मूल्य बढेपछि जेफको सम्पतिको ग्राफपनि चुलियो र उनले सन् २०१३ देखि लगातार बिश्वका सबैभन्दा धनाढ्यको सूचिमा रहेका बिल गेट्सलार्इ उछिने ।

न्यूयोर्कको शेयर बजारमा सियाटलबेस्ड कम्पनी अमेजनको शेयर मूल्य एक दशमलब दुर्इ  प्रतिशतले बढेपछि संस्थापक जेफको सम्पति पनि झण्डै ९१ अर्ब डलर पुग्यो । बिगत २३ वर्षमा १८ पटक विश्वको सबैभन्दा धनीको सूचिमा टप माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पति ९०.७ अर्ब डलर छ।

जेफले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए। कम्पनीमा उनको १७ प्रतिशत शेयर रहेको छ। त्यसयता कम्पनीले शेयर मूल्य ४० प्रतिशतले बढीसकेको छ। ५३ बर्षका जेफले अमेजनको परिचयलार्इ अनलार्इ बुक स्टोरका रुपमा मात्र सिमित बनाएनन् । इकमर्सको बजारभन्दा फराकिलो परिचय बनिसकेको छ अमेजनको ।

उनी भन्छन्- ठूला इन्डस्ट्रीहरुमा कुनै एक कम्पनीमात्र रहँदैन। त्यहाँ धेरै कम्पनीहरु हुन्छन् जसमा धेरै बिजेताहरु अटाउन सक्छन्।

२३ वर्ष पुरानो अमेजन विश्वकै सबैभन्दा ठूलो अनलार्इन सपिङ रिटेलरका रुपमा दरिएको छ।  पहिले बुक स्टोरको रुपमा सुरु भएको अमेजनलार्इ बिस्तार गर्ने क्रममा उनले सन् १९९७-१९९८ मा लुगा तथा बिभिन्न सामाग्रीहरुका अनलाइन स्टोरहरु खरिद गरेपछि सबैभन्दा ठूलो इ-रिटेलरका रुपमा विश्वभर कारोबार फैलाएको छ।

आलोचना सहन नसक्नेले कुनै पनि नयाँ कुराहरु ‘ट्राइ’ नै गर्न नहुने उनको तर्क छ। विश्वकै ठूलो बुक स्टोरको रुपमा अमेजनको स्लोगान बनाएपछि उनी आलोचनाको घेरामा परेका थिए। उनीमाथि वालमार्टको बिजनेस प्लान चोरेको आरोप समेत लाग्यो। दुबै केस अदालतसम्म पुग्यो। तर उनले ति दुबै केसलार्इ  अदालतबाहिरै सल्टाउन सफल भए।

जेफको सम्पति अमेजनको शेयर स्वामित्वमा मात्र सिमित छैन । उनको अमेजन बाहेक दि वासिङटन पोष्ट तथा रकेट कम्पनी ब्लु ओरिजिनमा समेत स्वामित्व रहेको छ। बिभिन्न कम्पनीका धितोपत्रहरुमा समेत उनको लगानी गरेका छन्।

सन् २००० मा उनले ब्लु ओरिजिन नामको स्पेस फ्लाइट स्टार्टअप कम्पनी खोले। कम्पनी स्थापना पछि पनि उनले केही समयसम्म यसलार्इ गोप्य नै राखे। सन् २००६ मा मात्र उनले यसबारे सार्वजनिक गरे जब उनले टेक्सासमा स्पेससिप लन्च तथा प्रयोगशालाका लागि जमिन खरिद गरे।

सन २०१३ मा बेजोसले वासिङटन पोष्टमा २५ करोड डलर लगानी गरे । यसमा उनले अमेजनको यसमा कुनै पनि भूमिका नरहने गरी ब्यक्तिगत लगानी गरेका थिए। बेजोस गुगलका पहिलो शेयरहोल्डर समेत हुन्। उनले सन् १९९८ मा  गुगलमा २ लाख ५० हजार डलर लगानी गरेका थिए।

बिबिध शौख र रुचिले भरिएका जेफ उम्दा कलाकार समेत हुन् ।  गत वर्ष मात्रै उनले स्टार ट्रेक बियोन्डमा अभिनय समेत गरेका थए।
प्रिन्सटन युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्प्युटर साइन्समा ग्रयाजुएसन सकाएका जेफले पढाइ सकेपछि वाल स्ट्रिटमा केही समय काम गरे।

त्यसपछि उनले फिटेल तथा बैंकर्स ट्रस्ट जस्ता कम्पनीहरुमा काम गरे। बिभिन्न कम्पनीहरुमा काम गर्दा पनि उनी सन्तुष्ट हुन सकेनन्। उनी इन्टरनेटलार्इ माध्यम बनाएर कुनै नयाँ कन्सेप्टमा काम गर्न चाहन्थे। उनले सन् १९९४ मा एमेजन डट कम स्थापना गरे।

उनले न्यूयोर्कदेखि सियाटलसम्मको क्रस कन्ट्री ड्राइभका क्रममा अमेजनको बिजनेस प्लान बनाएका थिए। उनको मान्यता छ- ‘अल बिजनेसेस निड टु बि फरएभर’ । त्यसै मान्यता अनुसार आफ्नो बिजनेसलार्इ अब्बल साबित गर्न खोज्नु उनको विशेषता नै हो।

उनले आफ्नो ग्यारेजमा अमेजनको कार्यालय स्थापना गरे। स्थापनाको दुर्इ हप्तामै अमेजनले हरेक हप्ता २० हजार डलरको कारोबार गर्यो। स्थापनाको दुर्इ महिनामै अमेरिकाको ५० वटा स्टेटहरुमा यसले बजार बिस्तार गर्यो।

उनले अमेजनका लागि अलग किसिमको ‘रेभेन्यू प्लान’ तयार गरेका थिए। जेफले २\४ वर्षमै कमाउने सपना देखेका थिएनन्। उनले लामो रेसको घोडाको रुपमा अमेजनलार्इ तयार पारे, अाखिर त्यही कम्पनीले उनलार्इ विश्वकै धनाढ्य बनाइदियो।                                        (एजेन्सीको सहयोगमा) विजमाण्डुबाट

प्रतिक्रिया दिनुहोस्