
मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालिका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण गरेर ठाडाखानी पुगेको छ । कार्यकर्ता भेटघाटका क्रममा केसीले आफूले रघुगंगा गाउँपालिकाको केन्द्र बिवादको विषयमा स्थानीय तह थप गर्नुपर्ने पक्षमा लवीङ गरेको स्मरण गराए ।
उनले झिँ, पाखापानी, कुईनेमंगलेका बासिन्दाको भावना र समस्याप्रती संवेदनशिल रहेको बताउँदै सहज रुपमा सेवा सुबिधा उपभोग गर्ने वातावरण बनाउन पहल गर्न प्राथमिकता दिने बताए । नेकपा एमालेका सचिवालय सदस्य दिपक कार्की (बिखर्ची) र सन्तोष रावलले नेपाली जनताको चाहना र भावना अनुसार भएको बाम तालेमेल र एमाले माओवादी पार्टी एकताको सहमतीमा कुनै शंका नगर्न आग्रह गर्दै गठबन्धनलाई जिताउन सक्रिय बन्न कार्यकर्तालाई आग्रह गरे ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य ओमकुमार पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रघुगंगा गाउँपालिका २ का अध्यक्ष रिम कटुवाल, माओवादी नेता सुवास बिक, हरि भण्डारी, युवा संघका सचिवालय सदस्य शिशीर शाहीले मन्तव्य व्यक्त गरेका थिए ।