२२ बैशाख २०८१, शनिबार

 

संसारकै धनी बेजोस हरेक रात आफैँ भाँडा माझ्छन्

बेजोस त्यति भाग्यमानी ठहरिएनन्।

सर्वाधिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्।

बेजोसलाई ‘संसारकै धनी’ का रूपमा पाएर सुतेकाहरू बिहान उठ्दासम्म त्यो कुर्सीमा गेट्स नै फर्किसकेका थिए।

यो घटनाको ठीक तीन महिनापछि गत शुक्रबार फोर्ब्सले अर्को सूची सार्वजनिक गर्‍यो, जसमा गेट्स फेरि पछि परे। उनलाई उछिन्ने अरू कोही होइन, उनै बेजोस थिए।

जेफ बेजोस। तस्बिरः गेट्टी इमेजेज

अघिल्लोचोटि पाँच घन्टा संसारकै धनी भएका बेजोस फेरि पनि त्योभन्दा बढी टिक्न नसक्ने धेरैको अड्कलबाजी रह्यो।

यसपालि भने बेजोस भाग्यमानी ठहरिए।

सबैको आकलन गलत सावित गर्दै उनी लगातार चार दिनदेखि संसारकै धनी छन्। र, यसपालि उनी यो स्थानमा टिकेर बस्ने विश्लेषण गरिएको छ।

गत जुलाईमा बेजोसको सम्पत्ति गेट्सको भन्दा २ करोड डलर मात्र बढी थियो। यसपालि ५ अर्ब डलर बढी छ। यति फराकिलो अन्तरमा तुरुन्तै बेजोसलाई पछ्याउन गाह्रै हुन विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय वित्तीय समाचार संस्था ‘ब्लुमबर्ग’ का अनुसार गत शुक्रबार बेजोसको अनलाइन रिटेलर कम्पनी अमेजन इंकको सेयर १३.२ प्रतिशत बढ्यो। यसले उनको स्वामित्वमा रहेको सम्पत्तिको मूल्य १० अर्ब २० करोड डलर वृद्धि भएको छ। यो वृद्धि जारी रहेको र सोमबारसम्म बेजोसको कुल सम्पत्ति ९३ अर्ब ८० करोड डलर पुगेको ब्लुमबर्गले जनाएको छ।

धनाढ्य सूचीमा लामो समय अगाडि रहेका गेट्सलाई पछि पार्ने बेजोसको यात्रा भने लामो छैन। उनी सन् २०१६ मा एकैपटक विश्वका पाँचौं धनी बन्न सफल भएका थिए। यो वर्ष तेस्रो स्थानमा पुगेका थिए।

संसारले चिन्ने गरी धनी बन्ने यात्रा छोटो भए पनि पर्दापछाडिको संघर्ष लामो छ।

बेजोस त्यस्तो परिवारबाट आएका होइनन्, जहाँ सुनको चम्चाले खाने सुविधा हुन्छ। उनको जन्म न कुनै औद्योगिक घरानामा भयो न उनको परिवार चर्चित नै थियो। यहाँसम्म कि, बेजोस त बाबुबाट परित्यक्त सन्तान हुन्। उनले आमाको माया पाए पनि जन्म दिने बाबुले हेर्दा पनि हेरेनन्।

कलिलै उमेरमा बिहे गरेका १७ वर्षीया ज्याक्लिन गिज र १८ वर्षीय टेड जोर्गेन्सनका सन्तान हुन्, बेजोस।

हाइस्कुल पढ्दा–पढ्दै बिहे गरेर सन्तान जन्माएका ती दम्पतीको सम्बन्ध धेरै समय टिकेन। जोर्गेन्सन जँड्याहा थिए। राति अबेरसम्म बाहिरै बस्थे। ज्याक्लिनलाई कुटिरहन्थे। आजित ज्याक्लिनले विवाहको १७ महिनापछि नै अलग हुने निर्णय गरिन्। त्यतिबेला बेजोस एक वर्षका थिए।

जोर्गेन्सनसँग सम्बन्ध टुटेको तीन वर्षपछि ज्याक्लिनले क्यूबाबाट अमेरिका आएका मिगुअल बेजोससँग विवाह गरिन्। मिगुअलले बेजोसलाई आफ्नो थर मात्र दिएनन्, बाबुको माया पनि दिए।

बालक अवस्थाका जेफ बेजोस। तस्बिरः बिजनेस इनसाइडर

एक वर्ष बाबुसँगै बसेका भए पनि बेजोसले अनलाइन समाचार संस्था वायर्डसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मैले उनलाई (जोर्गेन्सन) कहिल्यै भेटेको छैन।’

‘मलाई हुर्काउने मिगुअल नै मेरा वास्तविक बाबु हुन्,’ सन् १९९९ को त्यो अन्तर्वार्तामा बेजोसले भनेका छन्, ‘मलाई आफ्नो जन्म दिने बाबुको सम्झना त्यतिबेला मात्र आउँछ, जब डाक्टरले कुनै फर्म भर्न लाउँछन्।’

जन्म दिने बाबुको अनुपस्थिति आफूले पूर्ण रूपमा स्वीकारेको बेजोसको भनाइ छ।

जोर्गेन्सन पनि ज्याक्लिन र बेजोसलाई ‘बिर्सेको’ बताउँछन्।

बेजोसका आत्मकथा लेखक ब्राड स्टोनले अमेरिकाको एरिजोनामा साइकल पसल चलाएर बसेका जोर्गेन्सनलाई सोधेका थिए, ‘तपाईं जेफ बेजोसलाई चिन्नुहुन्छ?’

‘अहँ, को हो?’ ब्लुमबर्गमा छापिएको लेखमा जोर्गेन्सनलाई उद्धृत गर्दै स्टोनले लेखेका छन्, ‘मलाई उनको बारेमा केही थाहा छैन।’

स्टोनले जोर्गेन्सनलाई अतीत सम्झाउँदै भनेका थिए, ‘चर्चित कम्पनी अमेजनका सिइओ बेजोस तपाईंका छोरा हुन् नि।’

जोर्गेन्सन छक्क परे। सम्झेजस्तो गरे। तै बेजोस आफ्ना सन्तान हुन् भन्ने पत्याएजस्ता देखिएनन्। उनले यसमा खासै चासो पनि नदेखाएको स्टोन बताउँछन्।

निकै पछि स्टोनले जोर्गेन्सनका साथीबाट सुनेका थिए– उनी पछुतो मानिरहेका छन् र बेजोससँग भेट्न चाहन्छन्। यो सम्भव हुनेमा स्टोनलाई शंका छ।

उनका अनुसार बेजोसको बाल्यकालले नै सफलताको बाटो देखाएको हुनसक्छ।

‘जसरी प्रविधि क्षेत्रका दुई महान् हस्ती स्टिभ जब्स र ल्यारी एलिसनलाई जन्म दिने बाबुले ‘त्यागेका’ थिए, बेजोसले पनि त्यही भोगे,’ स्टोनले लेखेका छन्, ‘यी तीन परिवर्तनकारी व्यक्तिको बाल्यकालमा समानता छ, सायद उनीहरूको सफलतामा शक्तिशाली प्रेरणा यही हो।’

स्टोनले भनेझैं बेजोसको ‘भावुक बाल्यकाल’ मात्र सफलताको खुड्किलो भने होइन। उनीभित्र कुनै पनि काम गर्ने हुटहुटी र रनाहा अथाह छ।

‘सफलताको बाटो असन्तुष्टिहरूले कुँदिएका हुन्छन्। यो बाटो हिँडेर आफूलाई सावित गर्नुछ भने, मैले गर्न सक्नेजति गरिसकेँ भन्ने कहिल्यै नसोच्नुहोला। बरु सम्भावित र उत्साहित गर्ने विकासको खोजीतर्फ लाग्नुहोला,’ बेजोसले आफ्नो यो जीवनदर्शन पटकपटक भनेका छन्।

यो दर्शनलाई बेजोसले आफ्नो जिन्दगीमा सानैदेखि लागू गर्दै आएका छन्।

कुनै पनि चिजले कसरी काम गर्न सक्छ भन्ने जिज्ञासा उनमा सानैदेखि थियो। जसरी स्टिभ जब्सको काम ग्यारेजबाट सुरु भयो, बेजोसका कदम पनि ग्यारेजबाटै थालिए। अनेकौं विषयमा उब्जिने जिज्ञासा हल गर्न उनले ग्यारेजलाई प्रयोगशाला बनाएका थिए। उनी त्यहाँ विद्युतीय सामग्रीहरूसँग खेल्न गइरहन्थे।

यही उत्सुक र जिज्ञासु स्वभावले बेजोसलाई किशोरावस्थामै ‘उद्यमी’ बनायो।

हाइस्कुल पढ्दै गर्दा उनले आफ्नो पहिलो व्यवसाय सुरु गरे। ठूला सपना देख्ने बेजोसले चारदेखि छ कक्षा पढ्ने विद्यार्थीलाई गर्मी विदामा शैक्षिक भ्रमण लैजाने संस्था खोले, जसको नाम थियो– द ड्रिम इन्स्टिच्युट।

पर्यटन व्यवसायबाट सुरुआत गरे पनि बेजोसको लगाव कम्प्युटरमा थियो। उनले कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरे। त्यसपछि सेयर कारोबार गर्ने थुप्रै फर्ममा काम गर्दै पुँजी बजारको अनुभव बटुले।

तिनै फर्ममा सफलताको साँचो खोज्ने सिलसिलामा उनले जीवनसाथी भेटेका थिए। सेयर कारोबार गर्ने कम्पनीका सबभन्दा कान्छा उपाध्यक्षसँगै उनी लेखिका म्याकेन्जीको ‘मनका राजा’ भए। यो जोडीका चार सन्तान छन्।

वित्तीय क्षेत्रको आकर्षक करिअरका बाबजुद बेजोसको मन त्यसमा अडेन। ‘आफैं केही गर्छु’ भन्ने रनाहाले भरिएका उनी कुनै कम्पनीको चार पर्खालभित्र खुम्चिएर बस्न चाहन्थेनन्। उनी त सपनाको पखेटा हालेर खुला आकासमा उड्न चाहन्थे। र, आफ्नो भविष्य आफैं कोर्न चाहन्थे।

सपनाको प्वाँख पलाइसकेको थियो। मनभरि भरिएको रनाहाले पखेटा हालिसकेको थियो। अन्ततः सन् १९९४ मा बेजोसले जागिर छाडे र सियाटल गए। त्यहीँ उनले बामे सर्दै गरेको इ–कमर्स व्यवसायमा हात हाले।

त्यो उनको जीवनकै सबभन्दा ठूलो जोखिम थियो।

जेफ बेजोस। तस्बिरः बिजनेस इनसाइडर

बेजोसले बाल्यकालमा आफ्ना उत्सुकता मेटाउन ग्यारेजमा प्रयोगशाला बनाएका थिए। व्यावसायिक यात्राको पहिलो कदम पनि उनले त्यही ग्यारेजबाट चाले। उनको अनलाइनमार्फत् किताब बेच्ने कम्पनी अमेजन डटकमको सुरुआत त्यहीँ भयो। उनको यो कम्पनी यति चल्यो, एक महिनामै अमेरिका तथा अन्य ४५ वटा देशमा अनलाइनमार्फत् किताब बिक्न थाले।

त्यसपछि त बेजोस र उनको टोलीलाई काम भ्याउनै हम्मेहम्मे पर्‍यो।

कम्पनीले जति प्रगति गर्थ्यो, बेजोसको उडान उति फराकिलो हुँदै जान्थ्यो।

अमेजन डटकमले किताबमा मात्र सीमित नरहेर दैनिक जीवनमा आवश्यक पर्ने सबै किसिमका सामान उपलब्ध गराउन थालेको छ। उपभोक्ताको चाहनाअनुरुप कसरी चल्नुपर्छ भन्ने उनमा राम्रो ज्ञान छ। उनले भनेकै छन्, ‘उपभोक्तामा केन्द्रित हुनुहोस्, उनीहरूलाई सन्तुष्ट बनाउनुहोस्। उपभोक्तालाई केले खुसी बनाउँछ भनी खोज्न र उनीहरूको चाहनाअनुसार आविष्कार गर्न कहिल्यै नरोकिनुहोस्।’

‘मैले आफ्नो रनाहा मेटाउन जुन बाटो रोजेँ, त्यसमा म गर्व गर्छु,’ उनले भनेका छन्।

अमेजन डटकम अनलाइन किनेमल गर्ने विश्वकै ठूलो बिक्रीकेन्द्र हो। इन्टरनेटमार्फत् किताब बेचेर सुरु भएको यो कम्पनीले डिभिडी, ब्लु–रे, सिडीहरूका साथै भिडियो, एमपिथ्री, अडियो किताब डाउनलोड, सफ्टवेयर, भिडियो गेम, विद्युतीय सामग्री हुँदै फर्निचर, खाद्यपदार्थ, खेलौना, गरगहना लगायत सबै किसिमका सर–सामान बेच्दै आएको छ।

अमेजनलाई विश्वकै ठूलो कम्पनी बनाएपछि धेरैले बेजोससँग सोधेका छन्, ‘कहिलेकाहीँ कामको रनाहा भए पनि सफलता हासिल हुँदैन। तपाईंको सफलताको सूत्र के हो?’

उनको जवाफ हुन्छ, ‘आफ्नो नियम आफैं बनाउनुहोस्।’

हुन पनि बेजोस आफ्नै नियममा चल्छन्। यसको उदाहरण त उनको अफिस अमेजनमै देखिन्छ। ठूला कम्पनीका आन्तरिक बैठकमा कर्मचारी र हाकिमहरूले आफ्ना विचार पावरप्वाइन्टमार्फत् पेस गर्ने चलन छ। अमेजनमा भने यस्तो प्रविधि छैन। यहाँका बैठक ‘लिखित तर्क’ बाट सुरु हुन्छ। जसलाई आफ्नो विचार राख्नुछ, उसले ६ पानाको प्रतिवेदन बनाएर दिनुपर्छ। यसबारे छलफल गर्नुअघि सबैले मिहिन पढेर आफ्नो धारणा राख्नुपर्छ।

बेजोसको अर्को नियम ‘दुइटा–पिज्जा टिम’ हो।

सुन्दा नौलो लाग्ने यो नियमको अवधारणा हो– ‘कुनै पनि टोलीको आकार दुइटा पिज्जाले अघाउन नसक्ने गरी ठूलो हुनु हुँदैन।’

यहाँ पिज्जा भनेको अफिसको स्रोतसाधन हो। ठूलो समूहको काम कम उत्पादनमूलक हुन्छ भन्ने बेजोसको मान्यता छ। त्यही भएर उनी सधैं सानो टिममा काम गर्न रुचाउँछन्। दीर्घकालीन कदम चाल्नु बेजोसको तेस्रो नियम हो।

‘यसका निम्ति अल्पकालीन जोखिम र घाटा व्यहोर्न तयार हुनुपर्छ,’ उनी भन्छन्, ‘भविष्य उजागर गर्नुछ भने आज ओझेलमा पर्ने निर्णय गर्न नडराउनुहोस्।’

उनको यो भनाइ सफलताको निम्ति जोखिम मोल्न तयार हुनुपर्छ भन्ने मान्यतासँग पनि सम्बन्धित छ। उनी आफैंले पनि सेयर फर्मको सुनिश्चित जागिर छाडेर व्यवसाय गर्ने जोखिम मोलेकै हुन्। यहाँ आफ्नै अनुभव सनाउँदै बेजोस भन्छन्, ‘जोखिम लिँदा आधाभन्दा बढी समय असफलतामै गुज्रन्छ, तर जब तपाईंको रनाहा र मिहिनेतको मिलन हुन्छ, तब जीत हुन्छ, अप्रत्यासित जीत।’

उनको काम गर्ने अर्को तरिका एप्पलका सह–संस्थापक स्टिभ जब्ससँग मिल्छ– अतृप्त रहने। अध्ययन, अनुसन्धान र आविष्कारमा कहिल्यै पछि नपर्ने।

उपभोक्ता चाहनामा सधैं केन्द्रित हुने बानी र अफिसमा आफैंले लाएका नियमले बेजोस निकै व्यस्त रहन्छन्। उनलाई धेरैले ‘वर्काहोलिक’ पनि भन्ठान्छन्। तर, उनलाई ‘वर्काहोलिक’ भन्नुअघि सोच्नैपर्ने हुन्छ, किनकि उनी दिनको आठ घन्टा सुत्छन्। अत्यधिक कामको चाप र समयसीमाका बाबजुद उनी निद्रा मार्दैनन्।

‘आठ घन्टा सुत्नाले मलाई हरेक दिनका चुनौतीसँग लड्ने ऊर्जा मिल्छ,’ उनी भन्छन्।

अमेजनका सुरूआती दिनमा धेरै काम गर्नुपर्दा पनि उनी बेलैमा सुत्थे। जस्तोसुकै समयमा पनि बिहान उठ्न कहिल्यै अलार्म लगाउँदैनन्। ‘सफल हुन गुणस्तरीय काम गर्नुपर्छ, गुणस्तरीय काम गर्न निद्रा पनि गुणस्तरीय हुनुपर्छ,’ बेजोस भन्छन्।

यति मात्र होइन, जतिसुकै व्यस्त भए पनि उनी बिहान कुनै बैठक राख्दैनन्। कसैले डाके सहभागी पनि हुँदैनन्। यो समय उनी श्रीमती म्याकेन्जीसँग बसेर ‘ब्रेकफास्ट’ खान्छन्। काम र व्यक्तिगत जीवनबीच सन्तुलन नभए सफलताको सिँढी उक्लन गाह्रो हुने बेजोसको विश्वास छ।

अन्य सफल व्यक्तित्वको सफलताका सूत्रभन्दा फरक तरिकाले चल्ने धनाढ्य बेजोसको अर्को अनौठो बानी पनि छ– उनी घरमा रातको खानापछि आफैं भाँडा माझ्छन्।

‘मैले गर्ने कामहरूमध्ये भाँडा माझ्नु सबैभन्दा सेक्सी काम हो,’ उनलाई उद्धृत गर्दै बिजनेस इन्साइडरले लेखेको छ।

भाँडा माझ्ने काम आकर्षक मान्ने यिनै बेजोस विश्वकै धनी भएका छन्। विश्लेषकहरू उनको सफलताको दौड यहीँ टुंगिने देख्दैनन्। त्यसैले होला, अक्सफाम नामक संस्थाले भनेको छ, ‘आगामी २५ वर्षमा बेजोस संसारकै पहिलो यस्तो व्यक्ति हुनेछन् जसको सम्पत्ति १० खर्ब डलर हुनेछ।’

यो उपाधिअगावै उनले अर्को सफलता हात पार्ने सिएनबिसीको रिपोर्ट छ– उनी संसारकै पहिलो खर्बपति हुनेछन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा) सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्