६ जेष्ठ २०८१, आईतवार

 

‘बागलुङ सहित समग्र धौलागिरीको विकासमा केन्द्रबाटै पहल गर्छु’ राप्रपा उपाध्यक्ष राजभण्डारी

बागलुङका दिलविकास राजभण्डारी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीे मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधि सभाको सामानुपातिक उम्मेदवार छन् । राजभण्डारीले राष्ट्रियता, हिन्दुत्व, विकास, सुशासन र सकारात्मक परिवर्तनको मुद्धा लिएर पार्टीको संगठन सुधार र निर्वाचन प्रचार अभियानमा आफु गृह जिल्ला बागलुङ आएको बताएका छन् । प्रस्तुत छ उनीसँग नयाँ विश्वले गरेको कुराकानी :

१. यो चुनावमा के मुद्धा लिएर भोट माग्दै हुनुहुन्छ ?

हामी खास गरेर राष्ट्रियता, हिन्दूत्व, विकास, सुशासन र सकारात्मक परिवर्तनको मुद्धालाई लिएर जनतामाझ आएका छौँ । मुलुकको राष्ट्रियतालाई बलियो बनाउने, सनातनदेखिको हाम्रो पहिचानलाई कायम राख्दै नेपाललाई हिन्दूधर्म सापेक्ष राष्ट्र बनाउने हाम्रो लक्ष्य छ । किनभने अहिले मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको छ । राष्ट्रियताको पक्षमा बलियो गरि मुद्धा उठाउने पार्टी हाम्रो पार्टी हो । ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई धर्मनिरपेक्ष बनाईएको छ । यसले हाम्रो पहिचान मेटेको छ । नेपाललाई सर्वधर्म समभाव सहितको सनातन हिन्दू राष्ट्रि कायम गर्ने हाम्रो उदेश्य हो ।

अर्को कुरा राष्ट्रियता अहिले कमजोर बनेको छ । राजनीतिक दलले राज्यलाई भागवण्डा गरेर कमाई खाने भाँडो बनाएका छन् । राष्ट्रिययताको साझा प्रतिकको रुपमा संवैधानिक राजतन्त्र नै चाहिन्छ । मूलुकको राष्ट्रियता बचाउन र बालियो बनाउन पनि राजा नै चाहिन्छ । अहिले राजनीतिक पार्टीले भागवण्डा गरेर आफ्नो स्वार्थ पूरा गर्ने परिपाटी छ । कम्तिमा संबैधानिक राजा भएभने उनले राष्ट्रको हितलाई सर्वोपरी राख्दै मुलुकको राष्ट्रिय एकताको साझा प्रतिक रहन सक्छन् ।

 तेस्रो कुरा विकास र सुशासन हो । जनरुचि अनुसार विकासको गतिलाई अघि बढाउन र सुशासन कायम गर्ने हामी प्रतिबद्ध छौँ । खास यिनै मुद्धा सहित हामी अहिले भोट माग्न जनताको घरदैलोमा आएको छौँ । म पनि आफ्नै ठाउँ धौलागिरी तथा मेरै जिल्ला बागलुङ आएको छु ।

२. धौलागिरी अञ्चलको कुन कुन ठाउँमा उम्मेदवारी छ ?

धौलागिरीमा हाम्रो संगठन बलियो म्याग्दी र बागलुङमा छ । पर्वत र मुस्ताङमा हामी कमजोरै छौँ । म्याग्दीबाट प्रदेश सभा–१ मा प्रत्यक्षतर्फ भिमप्रसाद गौचनको उम्मेदवारी छ । उहाँलाई काँग्रेसले समर्थन गरेको छ । उहाँले जित्ने निश्चित छ । अर्को मुस्ताङमा पनि हाम्रो प्रत्यक्ष उम्मेदवारी छ । धौलागिरी अञ्चलमा प्रजातान्त्रिक गठबन्धन अन्तरगत हाम्रो नेपाली काँग्रेससँग सहकार्य छ ।

गठबन्धनभित्र प्रत्यक्षमाहामीले पाएको सिट म्याग्दीमा मात्र हो । मुस्ताङमा पनि हाम्रो प्रत्यक्ष उम्मेदवारीमा गठबन्धन अन्तरगत काँग्रसको सहयोग लिने हाम्रो प्रयास सफल हुन सकेन । त्यहाँ हामीले एकल चुनाव लड्दैछौँ । समानुपातिकतर्फ धौलागिरीका पाँच वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा म एकमात्र उम्मेदवार छु । पार्टीले मलाई सम्मान सहित यो टिकट दिएको छ । त्यसै अनुसार म यहाँ आएको छु ।

धौलागिरीवासीको भोट लिएर प्रतिनिधि सभामा जाने मेरो अठोट छ । हाम्रो चुनाव चिह्न गाईमा मदतान गरि मलाई धौलागिरीको प्रतिनिधिका रुपमा राष्ट्रको नीति निर्माण तहमा पुराउन यहाँका मतदाताले सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । यहाँका जनताको मतलाई सम्मान गर्दै मैले बागलुङ सहित धौलागिरीकै विकासको लागि काम गर्नेछु ।

३. तपाईसँग धौलागिरीको विकास गर्ने के छ त्यस्तो योजना ?

पहिले त मैले यहाँको आवश्यकता र प्राथमिकता तय गरेर विकासको काम गर्ने मेरो मनसाय छ । म अहिले पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक र मतदातालाई भेटी रहेको छु । उहाँहरुको माग, आवश्यकताा र चाहना अनुसार मैले योजना बनाएर विकासको काम गर्ने मेरो सोच छ ।

म हाम्रो पार्टीको केन्द्रीय नेतृत्वमै रहेको हुनाले मेरो गृह जिल्ला बागलुङ र समग्र धौलागिरीको विकासका लागि केन्द्रीय स्तरबाटै पहल गर्नसक्छु । मैले आवश्यकता अनुसार यहाँको सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, अन्यपुर्वधार विकास र सुशासन कायम गर्दै जनताप्रति उत्तरदायी साशनप्रणाली कायम गर्ने मेरो मुख्य लक्ष्य हो ।

यसका लागि मैले ठोस योजना बनाउने क्रममा छु । स्थानीय आवश्यकताका आधारमा मैले ठोस योजना बनाएर विकासका कामलाई अघि बढाउने मेरो मनसाय छ ।

४. देशमा राजनीतिक परिवर्तन भएर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आईसक्यो तपाईहरु अझै राजतन्त्र फर्काउने र धर्मलाई मुद्धा बनाएर राजनीति गर्दै खोज्दै हुनुहुन्छ किन ?

त्यसो होईन । शासन व्यवस्थानले जनताको सेवा गर्नुपर्छ । मुलुकको राष्ट्रियतालाई बलियो बनाउनुपर्छ । राष्ट्रको पहिचानलाई अझ उचो बनाउनुपर्छ । सुशासन र विकासको गतिलाई अघि बढाउनुपर्छ । तर तपाईले भने जस्तो व्यवस्था फेरिए पनि यी कुरामा सुधार हुन सकेको छैन ।

९४ प्रतिशत ओमकार परिवार रहेको मुलुकमा, नेपालको पहिचानलाई संसारभर स्थापित गरेको सनातन हिन्दू धर्मलाई अवमुल्यन गरि विदेशीको दवावमा धर्मनिरपेक्ष बनाईएको छ । जनआन्दोलनको मुद्धा धर्मनिरपेक्ष राज्य थिएन । यो एकाएक कसैको ईसारामा ल्याईएको हो । यसले हाम्रो पहिचान मेटेको छ ।

त्यसैले हामी यो मेटाउन खोजिएको मुलुको पहिचान फर्काउन चाहान्छौँ । अर्को कुरा गणतन्त्र भनेर के गर्नु, यो व्यवस्थामा राष्ट्र, राष्ट्रियता र मुलुकको पक्षमा काम गर्ने कुनै पार्टी नेता छैनन् । सवैले राष्ट्रको दोहन गरिरहेका छन् । जतिसक्यो मिलेर देश लुटिरहेका छन् । राष्ट्रको अस्मिता बचाउने, राष्ट्रिय एकाता कायम गर्ने र देशको विकास गर्ने कुरामा कसैलाई चिन्ता छैन ।

सवैले आफै आफै झगडा गर्ने, आफ्नो स्वार्थ पूरा गर्नमा ध्यान दिने, मुलुकको स्वाभिमान र हित विर्सने अवस्था आएपछि राष्ट्रिय एकता कायम गर्ने उच्च निकाय झन अपरिहार्य हुँदै गएको छ । त्यो भनेको राजा बाहेक अरु कोहि हुन सक्दैन । त्यसैले हामीले देशमा स्थिरता कायम गर्दै राष्ट्रियतालाई बलियो बनाएर विकासको गतिलाई अघि बढाउन संवैधानिक राजतन्त्रको मुद्धालाई उठाएका हौँ । यो मुलुको हितको लागि आवश्यक छ ।

५. राजतन्त्र र हिन्दू राज्यको मुद्धा ठाउने तपाईहरुलाई जनताले त्यति धेरै विश्वास गरेको देखिएन । अझ तपाईहरु आफै फुटेर कमजोर हुनभयो । यि मुद्धा झन् ओझेल पर्दै गए । अब नागरिकले के का लागि भोट दिने ?

तपाईले भने जस्तो हाम्रा मुद्धाहरु कमजोर भएका छैनन् । झन् बलियो बन्दै गएका छन् । यो कुरा जनाले बुझेका पनि छन् । देशमा अराजकता मौलाएको छ । राष्ट्रियता कमजोर बन्दै गएको छ । मुलुका पैसा बाँडेर धर्म परिवर्तन गर्ने दुष्प्रयास झन बढेको छ । यस्तो अवस्थामा हाम्रा मुद्धाहरु अझ बढी सान्दर्भिक बन्दै गएका छन् । धेरै जनताले यो कुरा बुझ्नुभएको छ । त्यसैले हामीले जनताले विश्वास गर्ने वातावरण बन्दै गएको छ । यसकारण हाम्रो भोट बढ्ने निश्चित छ ।

अर्को कुरा हामी यस अघिको संविधान सभामा चौथो दल थियौँ । कतिपय साथीहरुले व्यक्तिगत स्वार्थ र पदको मोहले पार्टी छोडेर गए । त्यसपछि हामी अलि कमजोर बनेका हौँ । अहिले हामी संगठन सुधार गर्दै आफ्ना मुद्धालाई जनताबीच लगेका छौँ । मुलुकको लागि आवश्यक र समय सान्दर्भिक मुद्धा हामीले उठाएका कारण हामीलाई जनताले भोट दिनेमा हामी विश्वस्त छौँ ।

६. अन्तमा नयाँ विश्व मार्फत के भन्न चाहानुहुन्छ ?

तपाईको लोकप्रिय अनलाईनन पत्रिका नयाँ विश्वले मेरो पार्टीको धारणा तथा मेरो आफ्नो चुनावी अभियान बारे अन्तरवार्ता लिनुभएकोमा धन्यवाद प्रदान गर्दछु । फेरि पनि सकारारतमक परिवर्तन, राष्ट्रियता, हिन्दूत्व, विकास र सुशासनको लागि गाई चिह्नमा मतदान गर्न आम मतदातालाई अपिल गर्दछु ।

मैले मेरो गृह जिल्ला बागलुङ र सिङ्गो धौलागिरीकै विकासका लागि केन्द्रीय स्तरबाटै पहल गर्नेछु । राष्ट्रिय पार्टीको दोस्रो तहको नेतृत्वमा रहेको नेताको नाताले मैले यो ठाउँको पहुँच राष्ट्रिय रुपमा पु¥याउन जोड दिनेछु । यहाँको विकास, समृद्धि र शुसाशनको लागि म सँधै प्रतिबद्ध रहनेछु ।

प्रतिक्रिया दिनुहोस्