
गठबन्धन नै बनाएर चुनावमा होमिएका बागलुङका वामपन्थी दलले चुनाव प्रचारलाई तीव्र बनाएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले ठाउँठाउँमा चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम गरिरहेका छन् ।
विगतमा विभिन्न पार्टीको नाममा फुटेर चुनावमा जाँदा कमाजोर महसुस गरेका उनीहरुले गठबन्धन नै बनाएर मतदाताबीच जाँदा विजयको तीव्र आकाङ्क्षा र उच्च मनोवल देखाएका छन् ।
यसबीच बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ का साझा वाम उम्मेदवार माओवादी केन्द्रका नेता चन्द्रबहादुर बुढा मगर सागरले आईतबार रिघाको मनेवामा चुनावी सभा गरे ।
गलकोट नगरपालिका–११ मा भएको कार्यक्रममा गठबन्धनमा आवद्ध तीन वटै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सागरले विगतमा राजनीतिक स्वतन्त्रता प्राप्तीका लागि बलिदिनीपूर्ण संर्घण गर्नुपरेको भन्दै अब प्राप्त उपलब्धिलाई संस्थागत गर्दै विकास र आर्थिक समृद्धिमा लाग्ने बताए ।
‘नेपाली जनताका प्रतिनिधिले देश चलाउने संविधान लेखेपछि राष्ट्रिलाई स्थायित्व प्रदान गर्दै सुशासन र आर्थिक समृद्धिको गतिलाई अघि बढाउन हाम्रो ध्यान केन्द्रीत छ,’ सागरले भने, ‘तपाईको मतबाट शाक्ति आर्जन गरेर प्रदेशको नीति निर्माणसँग स्थानीय विकासको कामलाई अघि बढाउन म दृढ शंकल्पित छु ।’
उनले संघर्षको लामो चरणमा आफुले जनताका दुख बुझेको भन्दै उनीहरुको मुहारमा खुसी ल्याउनु आफ्नो दायित्व रहेको बताए । ‘गाउँटोलका खास समस्या समाधानका लागि तपाईसँगै हाते मालो गरेर अघि बढ्छु,’ उनले थपे, ‘जनताको हक हितकै पक्षमा काम गरेर मेरो निर्वाचन क्षेत्रलाई नमुना बनाउँछु ।’
माओवादी नेता गंगा भुजेल, नेकपा एमाले संघिय मामिला तथा स्थानीय विकास विभागका केन्द्रीय सदस्य सुनिल शेरचन र जनमोर्चा बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटा, गलकोट नगर वडा नम्बर–११ का अध्यक्ष डम्बर श्रीष र एमाले महिला नेतृ यमुना काउचाले यो पटक वामपन्थीको विजयलाई कसैले रोक्न नसक्ने बताए ।
सो अवसरमा नरबहादुर घर्तीको संयोजकमा १ सय ५१ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रम नेकपा माओवादी गलकोट नगरपालिका वडा–११ का अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षता, राजमोका कुलबहादुर थापाको स्वागत र एमालेका डोलेन्द्र राना कुमालको संचालन समपन्न भएको थियो ।