७ जेष्ठ २०८१, सोमबार

 

सफल होटल व्यवसायीको रुपमा उदाए चोखाल

संघर्ष र उतारचढावबीच व्यवसायमा सफलता प्राप्त गरेका एक पात्र हुन्, ‘अर्जुन चोखाल’ । संकटमा पनि आँटका साथ निरन्तरको परिश्रम नै उनको सफलताको जग हो । उनी बागलुङका सफल होटेल व्यवसायी हुन् ।

विसं २०६५ सालमा बागलुङ बजारमा उनले समिट होटेल सुरु गरेका थिए । होटेल समिक्षालय चोकमा छ । पछि उनले बागलुङ कालिका मन्दिर गेटमै कालिका मल्टिप्यालेस पनि सुरु गरे । होटेल व्यवसायमा पाहुनाको स्वागत सत्कार गर्दै उनीहरुलाई सेवा दिन पाउँदा आफुलाई सन्तुष्टी मिल्ने गरेको उनी वताउँछन् ।

‘मैले १५ वर्षदेखि होटेल व्यवसाय गर्दै आएको छु,’ उनले भने, ‘हाम्रोमा आउने पाहुनाको माग अनुसारको सेवा दिएर सन्तुष्टि दिने हाम्रो पेशा हो, यो कुरामा मैले सँधै ध्यान दिन्छु ।’ यसअघि २०५८ सालमा उनले काठमाण्डौको ठमेलमा होटेल चलाएका थिए । उनको व्यवासायिक सक्रियता यत्तिमा मात्र सिमित छैन । अरु दुई जना साथीसँग मिलेर बागलुङ बजार नजिकै मुलपानी खहरेमा ‘समिट एग्रिकल्चर मार्फ’ नाम दिएर कृषि फर्म समेत चलाएका छन् ।

त्यहाँ उनीहरुले कुखुरा, गाई र माछा पालेका छन् । चोखाल गलकोट नगरपालिकाको मल्ममा जन्मिएका हुन् । गाउँकै विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न उनी २०४९ सालमा बागलुङ बजार झरेका थिए । होटेल समिटका लागि सुरुमा उनले २० लाख रुपैयाँ लगानी गरेका थिए ।

सेवा विस्तार गर्दै जाने क्रममा होटेलको लगानी डेढ करोड भन्दा धेरै पुगेको छ । समिट होटलमा ५० जना भन्दा बढीका लागि खाना बस्ने सुविधा रहेको उनले जानकारी दिए । स्वादिष्ट खाना, खाजाका परिकार सहित सुविधा सहितका कोठाहरु उनले उपलब्ध गराएका छन् । होटेलमा विभिन्न कार्यक्रम गर्नका लागि हल छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न ठाउँको भ्रमण गराउने प्याकेज सहित आधुनिक रेष्टूरेन्ट सञ्चालनको सेवा सुरु गर्ने तयारीमा आफु रहेको चोखालले बताए । ‘वललिँदो परिवेश र माग अनुसार मैले थप सेवा विस्तार गर्दैछु,’ चोखालले भने । उनले स्तरीय एसी कोठाको सेवा समेत दिने योजना बनाएका छन् ।

पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, ठूला भोज र अन्य समारोह गर्न सकिने हलसहितको सुविधा छ । यो हल ६ सय भन्दा बढी मान्छे अट्ने क्षमताको छ । उनले पार्टी प्यालेसको सेवालाई थप गुणस्तरीय बनाउन २५ लाख लगानी थपेर भौतिक संरचना सुधार गरेका छन् ।

जुनसुकै व्यवासायमा सफल हुन श्रमको सम्मान गर्दै निरन्तर मेहनत गर्नुपर्ने उनको भनााई छ । ‘हरेक क्षेत्रमा सफल हुन सही योजना, काम प्रतिको रुचि र जाँगर चाहिन्छ,’ उनले भने, ‘उच्च मनोवल लिएर निरन्तर काम गर्ने मान्छेले मात्र सफलता पाउँछ भन्ने मेरो मान्यता छ ।’

होटल व्यवसायमा १४ जना भन्दा बढी कर्मचारीहरुलाई रोजगार दिई रहेका छन । यस अघि उनले २०५३ सालमा हरित संजिवनी सप्लायर्स कम्पनी मार्फत गाउँ गाउँबाट जडिबुटी संकलन गरेर निर्यात गर्ने काम गरेका थिए ।

पछि चोखालले जटीबुटी व्यवस्थापन केन्द्र स्थापना गरेर जडिबुटी सम्बन्धि तालिम दिने तथा यस सम्बन्धि जागरण फैलाउने काम गरे ।

५५ सालमा अरु तीन जना साथीसँग मिलेर सौर्य उर्जा मार्फत गाउँघर उज्यालो बनाउने व्यवसाय गरेका थिए ।

‘स्वाभिमान उर्जा विकास कम्पनी’ मार्फत उनले सोलार सम्बन्धि सामग्री विक्री वितरण गर्ने व्यवसाय गरे ।

तत्कालिन नेकपा माओवादीले गर्ने गतिविधिमा सहयोग गरेको र आस्था राखेको भन्दै प्रहरीले २०५६ सालमा पक्राउ गरि १५ दिन हिरासतमा राख्यो । राजद्रोहको मुद्धामा उनी एक महिना जेल समेत परे । पछि उनले अदालतबाट सफाई पाए ।

२०५८ सालमा संकटकाल सुरु भएपछि बागलुङमा बस्न सक्ने अवस्था भएन । उनी काठमाण्डौ गएर ठमेलमा पर्यटकलाई लक्षित गरि फ्लोरिड होटेल सुरु गरे । ठमेलको होटेल पाँच वर्ष चलाएपछि घरभेटीले घरवाहल सम्झौता थप्न मानेन । होटेल राम्रो चलिरहेको बेला सम्झौता नविकरण नभएपछि उनी नयाँ व्यवसायको खोजिमा बागलुङ फर्किएर होटेल समिट सुरु गरेका थिए ।

उनले पर्यटन, होटेल व्यवसाय, सामाजिक सेवा र राजनीतिमा समेत रुचि राख्छन् । उनी अहिले बागलुङ उद्योग बाणिज्य संघको सहकोषाध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको ४ नम्बर प्रदेश समितिको उपाध्यक्ष र होटेल व्यवसायि महासंघ नेपालको उपमहासचिव छन् ।

प्रतिक्रिया दिनुहोस्