७ जेष्ठ २०८१, सोमबार

 

समानुपातिक: माओवादी चौथो, संगठन विनै विवेकशिलले जित्यो नयाँ शक्तिलाई

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ देशभर तेस्रो शक्ति बनेको माओवादी केन्द्र बागलुङमा भने चौथो बनेको छ । जिल्लामा राष्ट्रिय जनमोर्चा तेस्रो भएर माओवादीलाई विस्थापित गरेको हो । प्रत्यक्षमा भारी मतान्तरले पराजित काँग्रेस समानुपातिकतर्फ भने पहिलो दल बनेको छ भने एमाले दोस्रो दल भएको छ ।

जिल्लामा संगठन नै नभएको र प्रत्यक्षमा उम्मेदवार नभएको विवेकशिल साझा पार्टीले नयाँशक्तिलाई दोब्बर मतसहित पछि पारेको छ ।मंगलबार विहान सकिएको समानुपातिकको मतगणना अनुसार काँग्रेसले अरु दलले भन्दा बढी मत ल्याएर पहिलो पार्टी भएको हो । बागलुङमा एमाले दोस्रो, जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो पार्टी बनेका छन् ।

काँग्रेसले प्रतिनिधिसभातर्फ ३६ हजार ६ सय ३८ र प्रदेशतर्फ ३३ हजार ६ सय४० मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ ३० हजार ६ सय ३५ र प्रदेशमा २९ हजार ५४ मत ल्याएको बागलुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्लाबाट उनको पार्टीले प्रतिनिधिसभामा १५ हजार ९ सय ३४ र प्रदेशसभामा १६ हजार ७ सय २ मत पाएको छ ।

राष्ट्रिय रुपमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र बागलुङमा भने चौथोमा झरेको छ । उसले प्रतिनिधिसभामा १४ हजार ४ सय ५० र प्रदेशसभामा १३ हजार ८ सय ३ मत ल्याएको छ ।
त्यस्तै गाई चिन्ह भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा १ हजार २ सय १२ र प्रदेशतर्फ १ हजार ५ सय ७२ मत पाएको छ ।

संगठन विनै विवेकशिलले जित्यो नयाँ शक्तिलाई
जिल्लामा संगठन समेत नभएको विवेकशिल साझ पार्टीले बाबुराम भट्टराईको नयाँ शक्तिले भन्दा दोब्बर बढी मत ल्याएको छ । विवेकशिल साझालाई प्रतिनिधिसभामा १ हजार ३४ र प्रदेशसभामा १ हजार १ सय ३८ मत आएको छ । नयाँशक्तिले चाहिँ प्रतिनिधिसभामा ५ सय ३६ र प्रदेशसभामा ४ सय २५ मत ल्याएको छ ।

एक सय मत कटाउले पार्टी
एक सय मत कटाउनेमा क्रान्तिकारी माओवादीको देशभक्त गणतान्त्रिक मोर्चाको ८ सय ६९, नेकपा मालेलको ३ सय ६४ मत, संघीय समाजवादी फोरम २ सय ३२, राप्रपा राष्ट्रबादीको ४३ मत आएको छ । प्रत्यक्षमा समेत चुनाव लडेको आमूल परिवर्तन मसिहा पार्टीले १ सय ६५ मत पाएको छ ।
१ लाख ६७ हजार कुल मतदाता रहेको बागलुङमा समानुपातिकतर्फ १ लाख ८ खसेको थियो । यसमध्ये ६ हजार ६ सय ५३ मत बदर भयो ।

प्रतिक्रिया दिनुहोस्