२५ असार २०८२, बुधबार

 

बागलुङको दुर्गममा १६ प्रतिशतभन्दा बढी मत बदर

मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भएको बागलुङको दुर्गम क्षेत्रमा १६ प्रतिशत भन्दा बढी मत बदर भएको पाईएको छ । दुर्गममा पनि प्रत्यक्षभन्दा समानुपातिकतर्फ धेरै मत बदर भएको देखिन्छ ।

जिल्लाभित्र सबैभन्दा बढी समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा १६.२ प्रतिशत मत बदर छ । प्रत्यक्षमा भने ५ प्रतिशत मात्र बदर छ । यो प्रदेश बाहेक जिल्लाको समग्र सरदर प्रत्यक्षतर्फ ३.९२ प्रतिशत र समानुपातिकतर्फ ६.२५ प्रतिशत मात्र मत बदर हुँदा क्षेत्र नम्बर–२ को ‘ख’ मा निकै धेरै मत मदर भएको हो ।

यो प्रदेश सभाभित्र बागलुङको सवैभन्दा दुर्गम ठाउँहरु पर्ने निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिका पर्छन् । दुर्गम भेगका नागरिकमा साक्षरता, सचेतना र मतदाता शिक्षाको स्वभाविक रुपमा कमी रहने र निर्वाचन आयोगले चलाएको मतदाता शिक्षा कार्यक्रम समेत प्रभावकारी नहुँदा यस्तो अवस्था आएको हो ।

राजनीतिक दलले आफुलाई भोट मागे पनि कसरी भोट हाल्ने भन्ने विषयमा सिकाउन नसक्दा धेरै मत बदर भएको उत्तरगंमा मावि बुर्तिबाङका शिक्षक ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

‘पहिलो कुरा त यो प्रदेशमा धेरै दुर्गम र साक्षरताको कमि भएका गाउँ पर्छन्, यहाँका मतदातामा स्वभाविक रुपमा मतदाता शिक्षाको कमी नै हुनेभयो,’ पौडेलले अगाडी थपे, ‘निर्वाचन कार्यालयले चलाएको मतदाता शिक्षाको प्रभाव पनि कम देखियो, अर्कोतिर राजनीतिक पार्टी र तीनका उम्मेदवारले कसरी मत दिए सदर हुन्छ भन्ने कुरामा ध्यान दिएनन् ।’

उनले उम्मेदवार, तिनका प्रतिनिधि र दलका कार्यकर्ताले समेत आफू र आफ्नो पार्टीलाई भोट माग्दा मतदातालाई कसरी राख्दा मत सदर हुन्छ भन्ने कुरा सिकाउनुपर्नेमा जोड दिए ।

यो प्रदेशमा कुल मतदाता ३३ हजार २ सय ४० रहेको यो प्रदेशमा २१ हजार ९ सय ८३ जनाले मतदान गरेका थिए । समानुपातिकतर्फ ३ हजार ५ सय ६५ जनाले दिएको मत बदर भएको हो । प्रत्यक्षमा भने १ हजार १ सय ४० अर्थात ५ प्रतिशत मात्र मत बदर भयो ।

बागलुङका जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र पौडेलले मतदाता शिक्षा कार्यक्रम चलाउँदा पनि यो प्रदेशमा अरुतिरभन्दा निकै धेरै मत बदर देखिएको वताए । राजनीतिक पार्टीबीचको चुनावी तालमेल र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका कतिपय नयाँ पार्टीको प्रदेश सभातर्फ समानुपातिकमा उम्मेदवार नहुँदा कतिपय मतदाता अन्यौलमा परेकोले धेरै मत बदर भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung