गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले दलित बालबालिका कसैको दयाका पात्र नभई अधिकारका पात्र भएको बताए । दलित विद्यार्थीको बाहुल्यता रहेको सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका–७ मल्म, सिरबारेमा दलित विद्यार्थीलाई सामग्री वितरण गर्दै गैरेले यस्तो बताए । नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको वस्तुगत अवस्था, वास्तविकता के छ भनि नगरले सर्वेक्षण गरिरहेको उल्लेख समेत गरे ।
विद्यालयले बुधबार एक कार्यक्रम गरि विद्यालयमा अध्ययनरत दलित एव विपन्न विद्यार्थीहरुलाई स्विटर, जुत्ता तथा मोजा वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई केन्द्रित गरि सदरमुकाममा सञ्चालित अनलाईन मिडिया नयाँ विश्व डटकमले बागलुङ महोत्सवमा आर्थिक संकलन अभियान गरेको थियो । नयाँ विश्व अनलाईनले उक्त सामग्री उपहार स्वरुप विद्यालयलाई प्रदान गरेको अनलाईनका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । 
कार्यक्रममा गलकोट नगरपालिका – ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा, श्रोत व्यक्ति दिनेश पन्त, सिराबारे बाल विकास केन्द्रका अध्यक्ष खिम भित्रीकोटी र सिरबारे मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर परियारले मन्तव्य राखेका थिए । सो अवसरमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त खाजा रकम समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीको अध्यक्षा प्रधानध्यापक कल्पना गौतमको स्वागत शिक्षक सुनिता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


















































































































































































































