१२ कार्तिक २०८३, बुधबार

 

‘जनतालाई उत्पादन बजारीकरणमा केन्द्रीत गरौ’–जिसी

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि हासिल गर्नका लागि जनतालाई उत्पादनमा र सहकारीहरुलाई संकलन तथा बजारीकरणमा केन्द्रीत गर्नु पर्नेमा जोड दिएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड बागलुङ नगरपालिका–१० भकुण्डेले शुक्रबार आयोजना गरेको सञ्चालक समिति, लेखा समिति, अन्तर समुह सदस्य तथा कर्मचारीहरुका लागि आयोजना गरेको एक दिने सहकारी अभिमुखीकरण तालिममा यस्तो बताएका हुन् ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई उत्पादनका क्षेत्रमा केन्द्रीत गर्ने र उनीहरुले उत्पादन गरेका वस्तुहरु संकलन र विक्री वितरण गर्ने काम सहकारीहरुले गर्ने हो भने स्थानीय उत्पादनलाई बढाउन सकिने उनको भनाइ थियो ।  सहकारीले सदस्यहरुसँग भएको श्रम, शीप र पूँजिलाई सही रुपमा परिचालन गर्ने वातावरण सिर्जना गर्नका लागि योजना बनाउने र स्थानीय तहले त्यसलाई सहजीकरण गर्नु पर्नेमा जिसीको जोड थियो ।

जनतालाई आयआर्जन गरेर र खर्च कटाएर वचत गर्ने बानीको विकास गर्र्न सके स्थानीय पूँजिलाई समेत आर्थिक विकासमा परिचालन गर्न सकिने भन्दै जिसीले सहकारीहरु यस विषयमा चनाखो हुनु पर्ने बताए । कार्यक्रममा बागलुङ नगरपालिका–१० का वडा सदस्य सोमबहादुर थापाले सहकारीले जनतालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेकोले यसको थप प्रवद्र्धनका लागि राज्यको सहयोग रहने धारणा राखेका थिए ।

२ दिनसम्म सञ्चालन हुने तालिमको पहिलो दिन राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको परिभाषा, सहकारीमार्फत आय आर्जन र बचत तथा स्थानीय स्रोतको परिचालनका विषयमा सहजीकरण गर्नु भएको थियो । दोस्रो दिन साना किसान बैंक पोखराका प्रतिनिधिले सहजीकरण गर्ने जनाइएको छ । तालिम उद्घाटन कार्यक्रम साना किसान कृषि सहकारी संस्था भकुण्डेका उपाध्यक्ष जगन्नाथ शर्मा पाौडेलको अध्यक्षता, संस्थाका सञ्चालक तथा बागलुङ नगरपालिका–१० का वडा सदस्य लक्ष्मण शर्माको स्वागत र प्रवन्धक थमसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

७ सय १२ जना शेयर सदस्य रहेको संस्थामा ३५ लाख शेयर रकम, १ करोड जगेडा कोष, २ करोड निक्षेप, ४ करोड लगानी रहेको संस्थाका सञ्चालक उमाकान्त शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung