बागलुङ नगरपालिका—१३ का शिवप्रसाद रिजाल अहिले वैदेशिक रोजगारीको शिलशिलामा अफगानिस्तान छन् । उनी सोच्छन्,‘आफु त समयमा गतिलो शिक्षा लिन नपाउँदा प्रदेशीनु प¥यो अब अरु भाई बहिनीले त्यस्तो समस्या भोग्न नपरोस् ।’ उनको यही सोंचलाई साकार रुपमा दिन उनले आफैले अध्ययन गरेको जनमत माविको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गर्दै आएका छन् । यही कारण उनले उक्त विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ बढि सहयोग दिईसकेका छन् । रिजाल भन्छन्,‘हामी आफुले राम्रोसंग गाउँमै बसेर पढ्ने अवसर पाएनौं, शहर गएर पढ्न पनि त्यस्तै भो, अहिले जीवन गुजारा चलाउनका लागि पनि विदेशमा बस्नु परेको छ । अब हाम्रो भाई बहिनी छोराछोरीले यस्तो दुःख भोग्न नपरोस् ।’ अहिले लण्डनमा रहेका नारायणदत्त रिजालले उक्त विद्यालयको लागि एक लाख ५१ हजार एक रुपैयाँ सहयोग प्रदान गरेका छन् । कतारमा रहेका रमेश भट्टले विद्यालयको शैक्षिक उन्नतिका लागि एक लाख एक सय ११ रुपैयाँ सहयोग गरेका गरे ।
उनीहरु प्रतिनिधि पात्र हुन् । उनीहरु जस्तै बिहान बेलुकाको छाक टार्ने रोजी रोटी खोज्दै संसारका विभीन्न ठाउँमा पुगेकाहरु अहिले आफ्नो जन्म ठाउँको विकासका लागि सक्रिय हुन थालेका छन् । बागलुङ नगरपालिका—१३ बाट मुलुकका विभीन्न ठाउँमा पुगेका दर्जन बढि युवाहरुले यहाँको शैक्षिक र सामाजिक तथा भौतिक विकासका लागि ठूलो सहयोग पु¥याउँदै आएका छन् । लाखौं रुपैयाँ खर्चेर विदेशमा पुगेका युवाहरुले आफ्नो परिवारसंगै समाजको विकासका लागि साझेदार बन्न थालेका छन् । विदेशमा रहेका युवाहरुबाट मात्र यस वर्ष जनमत माविमा ११ लाख ५८ हजार एक सय ९७ रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक परशुराम रिजालले बताए । ‘हाम्रै विद्यालयमा अध्ययन गरेर विदेश भएका युवाले यहाँको लागि निकै ठूलो सहयोग गरेका छन्,’ उनले भने,‘विद्यालयमा माध्यमिक कक्षा सञ्चालन लागि सहयोग आह्वान गरेका थियौं । पूर्व विद्यार्थीहरुले दिल खोलेर सहयोग गर्नुभएको छ ।’ २०६६ सालबाट माध्यामिक तह सञ्चालन भएको विद्यालयले सात जना शिक्षकलाई निजी स्रोतबाट तलब खुवाउँदै आएको छ । ‘हामीले अँग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेका छौं, मावि तहमा सात जना शिक्षकलाई स्थानीय स्रोतबाट तलब खुवाउनुपर्छ,’ प्रधानाध्यापकप रिजालले भने,‘यहाँबाट साउदी अरब, दुबई, कोरिया, कतार, मलेसिया, अमेरिका, बहराईन जापान लगायतका मुलकमा पुगेका युवाले सघाएका छन् । विद्यालयलाई केही समस्या परे स्थानिय समुदाय र विदेशमा रहेका युवाहरुलाई गुहार्ने गरेका छौं ।’
सबैको सहयोगले विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने अभियान थालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद शर्मा बताउँछन् । ‘गाउँमा मावि तहको पढाई नहुँदा घण्टौं हिँडेर त्रिभुवन माविमा जानुपर्ने बाध्यता थियो,’ शर्माले भने,‘ गाउँमै कक्षा सञ्चालन भएपछि घरकै आटो पिठो खाएर विद्यार्थीले माध्यमिक तहको पढाई गरेका छन् । हामी यो विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडी बढाउन चाहान्छौं ।’ शैक्षिक संगै यहाँका युवाहरुले सामाजिक क्षेत्रमा समेत सहयोग पु¥याउँदै आएका छन् । वैदेशिक रोजगारीका लागि जापानमा पुगेका स्थानीयको एक लाख ८५ हजार रुपैयाँ सहयोगमा गणेश मन्दिर जिर्णोद्धार गर्ने काम हुँदैछ । गाउँको सम्पदाको संरक्षणका लागि आफुहरुले कमाएको केही रकम सहयोग स्वरुप पठाएकोे बलेवा समाज जापानका महासचिव टिकाराम रिजाल (बिमल) ले बताए ।
‘हामीले निकै संघर्ष गरेर कमाएको रकमबाट समाजको केही विकास होस् भन्ने हेतुले सहयोग संकलन गरेर पठाउने गरेका छौं,’ रिजाल भन्छन्,‘हामी बाध्यताले विदेशमा आएका छौं, आफ्नो गाउँ ठाउँको विकास होस्, गाउँघरमा राम्रो होस् र गाउँमै फर्कन सकियोस् भन्ने हामीलाई पनि लाग्छ ।’ मन्दिरको पुनःनिर्माणका लागि अभियान नै थालेर सहयोग संकलन गरिएको निर्माण समितिका सचिव दिनेश रिजालले बताए । विदेशमा रहेका युवाहरुले जिल्लाको विभीन्न ठाउँमा सहयोग पु¥याएका छन् । जिल्लाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई गलकोट समाज जापानले एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छ । जिल्लाबाट प्रवासमा पुगेका नेपालीहरुले विभिन्न सम्पर्क समाज गठन गरी आफ्नो गाउँ ठाउँका हरेक क्रियाकलापमा सहयोग गर्दै आएका छन् ।


















































































































































































































