प्रहरीले बुटवलबाट शनिबार राती लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले गएराती ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला निसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् ।
रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । लागुऔषध चरेस बागलुङबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चरेस नेपाली मूल्यमा करीव १८ लाख बराबरको रहेको छ ।



















































































































































































































