७ जेष्ठ २०८१, सोमबार

 

बाघ भालु र चोरबाट कुकुरले गर्छ भेडाबाख्राको सुरक्षा

रघुगंगा गाउँपालिका–८ दुवाडीका डालचन्द विश्वकर्माको दैनिकी धौलागिरि हिमालनजिकका खर्कहरूमा बित्ने गर्छ । व्यावसायिक रूपमा भेडाबाख्रा पालन गर्दै आएका २१ वर्षका विश्वकर्माको साथी कुकुर हो । भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि उनले दुईवटा ‘भोटे कुकुर’ पालेका छन् । जंगली जनावरको आक्रमणबाट जोगाउन उनले कुकुरको घाँटीमा काँडेमाला लगाइदिएका छन् ।

उनको गोठमा करिब १५० वटा भेडाबाख्रा छन् । ती भेडाबाख्रा सुरक्षा गर्ने जिम्मा कुकुरकै हो । गाउँदेखि दुई–तीन दिनको पैदल यात्रापछि पुगिने धौलागिरि हिमालको फेदीसम्मै भेडाबाख्रा चरनका लागि लैजानुपर्ने भएकाले गोठमा कुकुर अनिवार्य पाल्ने गरेको विश्वकर्माले बताए । ‘मेरो साथी भनेकै कुकुर हुन्,’ उनले भने, ‘रात होस् या दिन, मलाई र भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट बचाउने जिम्मा कुकुरले नै गर्छ ।’

घना जंगलमा भेडीगोठ
झरमुते खर्कको घनाजंगलको बीचमा विश्वकर्माले भेडाबाख्रा गोठ राखेका छन् । जंगलमा धेरै खालका हिंस्रक जंगली जनावर छन् । ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन् । अनकन्टार हिमालको फेदीमा गरिने भेगाबाख्रा पालनका लागि कुकुर अत्यन्तै भरपर्दो साथी भएको अर्का किसान कुम्मे सेरपुन्जाले बताए ।

‘जंगलमा बाघ, भालु र चितुवाको संख्या बढिरहेको छ, पटक–पटक गोठसम्म आएर आक्रमणको प्रयास गर्छन्,’ कुकुरसँगै जंगलमा भेडा चराउँदै गरेका सेरपुन्जाले भने, ‘तर गोठमा रहेका कुकुरको प्रतीकारले उनीहरूको प्रयास विफल हुँदै आएको छ ।’ रात, साँझ बिहान गोठमा रहेका वेला कुकुरले भेडाबाख्रालाई सुरक्षा दिन्छन् । तर, दिउँसो चरनक्षेत्रमा छरिएर रहेका वेला भने जंगली जनावरले कुकुरको आँखा छलेर छेकारो हान्दै भेडाबाख्रालाई आक्रमण गर्ने गरेको उनले सुनाए ।

कुकुरले दिन्छन् पहरा
गोठमा भेडाबाख्राको सुरक्षाका लागि बसेका कुकुर नचिनेको मानिस र जंगली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढे ठूलो स्वरले भुकेर जनाउ दिने गरेको सेरपुन्जाले बताए । एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाले साथी र प्रतिबद्ध रक्षकका रूपमा दुईवटा भन्दा बढी कुकुर पाल्दै आएका छन् ।

कुकुरविना गोठको जीवन र भेडाबाख्रापालन सम्भव नहुने धौलागिरि गाउँपालिका–१ गुर्जाका भेडापालक किसान बोमबहादुर छन्त्यालले बताए । कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने हुँदा सुरक्षा हुने गरेको उनको भनाइ छ । रघुगंगा गाउँपालिका–२ का युवा किसान रामकृष्ण भण्डारीले कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्