११ कार्तिक २०८३, मंगलवार

 

किन अलमलियो हटिया शिवालयघाट मोटरेबल पुलको काम ?

गलकोट हटिया शिवालयघाटको मोटरएवल पुल निर्माणमा ढिलाई भएको छ । अगामि मंसिर महिना भित्र पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि पुल निर्माणको कार्यले गति लिन सकेको छैन ।

नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले जिम्मा लिएको पुलको करिब ६० प्रतिशत कार्य सम्पन्न भएको छ । ७, ८ महिनासम्म निरन्तर काम सञ्चालन भएपनि पछिल्लो समय पुल निर्माण कार्य अलपत्र परेको स्थानियको भनाई छ । गत असार महिनामा पुलका ठेकेदार कुमार खड्कालाई पुल निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भन्ने प्रश्नमा आगामि मंसिर महिनामा पुलबाट गाडि गुड्ने बताएका थिए । तर अहिले सम्पर्क गर्दा सडक डिभिजन कार्यालयले बेरिङ ल्याउने बिषयमा अनुमति पत्र नदिएका कारण पुल निर्माणको कार्य अगाडि बढ्न नसकेको बताए ।

सडक डिभिजन कार्यालय बागलुङका पुर्व प्रमुख थानेश्वर खत्रीलाई सम्पर्क गर्दा यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनले पुलका ईन्जिनियर चण्डेश्वर शाहलाई सम्पुर्ण जानकारी भएको र यस बिषयमा आफुले समेत शाहलाई बुझ्न आग्रह गर्ने बताए । खत्री केहि दिन पहिले बागलुङबाट सरुवा भएका हुन । उता पुलका ईन्जिनियर चण्डेश्वर शाहलाई सम्पर्क गर्दा फोन उठ्दैन । पुलका ठेकेदार खड्काका अनुसार अव तत्काल सड्कले स्वीकृति दिएपनि पुल निर्माणको कार्य आगामि असार मसान्त सम्म लाग्ने बताए ।

‘बेरिङका लागी भारतमा जानुपर्छ, त्यहाँबाट ल्याउनका लागी करिब १ महिना लाग्छ त्यसपछि हामी काम सुरु गर्छौं,’ खड्काले भने, ‘यसअधि पुल निर्माणका लागी सड्क डिभिजन कार्यालयले रकम दिनमा आनाकानि गरिरहेकाले काममा ढिलाई भएको हो ।’ निर्माण कम्पनीले म्याद थपका लागी समेत पत्र बुझाएको खड्काले बताए । दुवै कामको पत्र बुझाए पनि सड्क डिभिजन कार्यालयले कुनै प्रतिक्रिया नदिएको उहाँको आरोप छ ।

कुल ३ करोड ७ लाखको लागतमा २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको म्याद आगामि मंसिरमा सकिने छ । शिवालय घाटको पुल मंसिर महिनाभित्र सम्पन्न गर्ने आशा अब बिलिन भएको छ । अब निधारित समयमा त नसकिने भो, ठेक्का सम्झौता गरि समय थपेर भएपनि २०७६ असार मसान्त भित्र पुल बनाउने खड्काले बताए । पुल निर्माणको बिषयमा ठेकदार र सड्क डिभिजन कार्यालयले एक अर्कालाई अरोप प्रत्यारोप गरि उम्कने गर्दा गलकोटबासीलाई समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung