बागलुङ । बलेवा विमानस्थल नियमित रुपमा संचालनमा ल्याउने भन्दै नगर प्रमुख जनकराज पौडेलले दुई विमान कम्पनीसँग सम्झौता गरे । नेपाल एयरलायन्स र तारा एयरलायन्सका जहाजहरु नियमित उडानका लागि सम्झौता भएसँगै नगरप्रमुखले भनेका थिए ‘ घाटामा भएपनि अब निरन्तर यो विमानस्थल संचालन हुन्छ ’ । तर विमानस्थल घाटामाथि घाटामा थलिएपछि अहिले बन्द भएको छ ।
एक वर्षअघि बलेवास्थित विमानस्थल संचालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् । नारायणस्थानको बलेवा एयरपोर्ट संचालनका लागि ती रूख काटिएका थिए ।
बलेवास्थित डुगाचौर सामुदायिक वनको ४ सयभन्दा बढी रूख जहाज चलाउनका लागि कटान गर्नुपर्ने भन्दै नागरिक उड्ययन प्राधिकरणले आग्रह गरेपछि स्थानीयले काटेका थिए । ‘जहाज चलाउनका लागि रूख काट्नै पर्ने सल्लाह पाएपछि ढालिएको थियो,’ वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘जहाज पनि नियमित भएन, रूखहरू कसरी व्यवस्थापन गर्ने अन्योल भएको छ ।’ हरेक काम गर्दा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने बाध्यताले ढलेका रूख जस्ताको तस्तै रहेको उनले बताए ।
सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्यांक बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजस्व तिर्नुपर्ने व्यवस्था छ । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ ।
२०१८ सालदेखि सञ्चालन भएको विमानस्थल विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नागरिक उड्ययन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएपछि असारमा एकाध जहाजले उडान भरेका थिए । २६ वर्षदेखि उपयोगविहीन बलेवा हवाईमैदानमा हिजोआज फेरि जहाज चल्न छाड्यो ।
फेरी गौचरन
विमानस्थलको कच्ची धावनमार्ग फेरि गौचरनमा परिणत भएको छ । घाटामाथि घाटा हुन थालेपछि विमानस्थल बन्द भएको हो । एक वर्ष अघिमात्रेै संचालनमा आएको विमानस्थल बन्द भएसँगै मैदान गौचरनमा परिणत भएको छ भने काटिएका सल्लाका रुखहरुको व्यवस्थापन हुन सकेको छैन ।
फर्निचर वा दाउरा बनाऊ
डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहाललेसमूहले निर्णय गरेर सामुहिक कामका लागि फर्निचर र दाउरा बनाउन सक्ने बताएका छन् ।। ‘व्यक्तिले आफूखुसी नगरी सामुहिक भेलाबाट सार्वजनिक हितका काम गर्न रोक लाग्दैन,’ उनले भने, ‘निकासी पैठारी गर्नुपर्दा भने कार्यालयको प्रतिनिधिले तोकेका गोला र नम्बर लगाएपछि राजस्व तिरेर मात्र पठाउन सकिन्छ ।’ सार्वजनिक हितकै लागि काटिएकाले समूहले मिलेर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सोर्केन्द्रबहादुर खत्रीले भने स्थानीय उपभोगका लागि लिलामीको तयारी गरेको बताए । ‘निकासी पैठारी गर्नका लागि वन कार्यालयबाट अनुमति पाउन सकिएन । त्यसैले गाउँघरमै खपत गर्ने तयारी छ,’ उनले भने, ‘पटक–पटक डिभिजन वन अधिकृत फेरिइरहने कारणले हाम्रा प्रक्रियाहरू अलपत्र परेकोले हैरानी भयो । फर्निचरका लागि खरिद गर्न खोज्ने धेरै भए पनि प्रक्रियागत झन्झटले बेच्न सकेनौं ।’ बिक्री गर्दा लाखौं आम्दानी हुने भए पनि नसकेको उनले टिप्पणी गरे ।
जहाज आउने आशा
हाल बलेवा विमानस्थलमा जहाज चलेको छैन । बागलुङ नगरपालिकाले नागरिक उड्ययन प्राधिकरण र नेपाल एयरलाइन्ससँग छलफल गरेर भाडादर घटाउने तथा नियमित उडान भर्ने गरी तयारी गरेको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।



















































































































































































































