पर्वत । फलेबासको लमायखोलादेखि महाशिलाको लुंखुसम्म जोड्ने सडकमा अहिले सडक चाक्लो बनाउने, नाली खन्ने तथा टेवा पर्खाल लगाउने काम धमाधम भैरहेको छ ।
फलेबास नगरपालिकाको लमायदेखि महाशिलाको लुंखुसम्म पुग्ने १३ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि धमाधम काम हुन थालेको हो । सडक चाक्लो बनाउने र नाली तथा टेवा पर्खाल लगाउने काम सहित सडकको १५ प्रतिशत भन्दा बढी काम भैरहेको छ ।
त्यस्तै कुस्मा नगरपालिकाको अर्मादीदेखि जलजला गाउँपालिकाको बनौं जोड्ने सडकमा पनि अहिले काम भैरहेको छ । अर्मादी –बनौ सडकमा त अहिले २० प्रतिशत भन्दा बढी काम भैसकेको छ ।
असारमा ठेक्का सम्झौता भएका यी सडकमाको स्तरोन्तीको काम तीब्र गतिमा भइरहेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) मार्फत कालोपत्रेका लागि काम भैरहेको छ । अर्मादी –बनौ र लमायखोला – लुंखु सडक ६१ करोड ६० लाख रुपैंयाको लागतमा कालोपत्रेको काम भैरहेको आरसीआईपीका पर्वत प्रमुख जगदीश शर्माले बताए ।
यसबाहेक लुंखु–हुवास १५ किमि पनि कालोपत्रेको चरणमा छ । आरसीआइपीले आगामी वर्षदेखि कलोपत्रे हुनेगरी ७ वटा सडकको विस्तृत योजना सर्वे भइरहेको छ । ‘आगामी वर्ष कालोपत्रे गर्नेगरी सातवटा सडकको डीपीआर बनाउँदै छौं,’ प्रमुख शर्माले भने, ‘डीपीआर तयार गरेपछि ती सडक आगामी वर्षदेखि कालोपत्रे सुरु हुनेछन् ।’
मिलचोक–सालिजा, पातीचौर–बाजुङ–क्याङ, दोबिल्ला–गँगटे–आर्थर, जैमिनि–खानीगाउँ–कार्कीनेटा परेका छन् । त्यस्तै लमाय–लिमिठाना–ठानामौला–थापाठाना, त्रिवेणी–टकलाक–सिंगारकोष र रतिखोला–दराक–चित्रेको आगामी वर्षदेखि सुरु गर्ने लक्ष्यका साथ सयै वर्ष डीपीआर तयार गर्नका लागि छनोट भएको शर्माले जानकारी दिए ।



















































































































































































































