२४ असार २०८२, मंगलवार

 

पत्रकार महासंघ बागलुङको एक्सन : श्रमजीवी पत्रकारलाई होला त राहत ?

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयनका लागि नयाँ अभियान शुरु गर्ने भएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले जिल्लाभर कार्यरत पत्रकारहरुको तथ्यांक र ऐन कार्यन्वयनको यथार्थ अवस्था पहिचानका लागि सञ्चार माध्यमसँग समन्वय गर्ने निर्णय गरेको हो । यसका लागि तथ्यांक अद्यावधिक र जिल्लामा सबै संचार माध्यमसँग समन्वयको लागि महासंघ सचिव राम थापालाई जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ ।

श्रमजीवी पत्रकार डेक्स
जिल्लाभर कार्यरत रहेका श्रमजीवी पत्रकारहरुको संख्या, नियुक्ति पत्र, पारिश्रमिक, दरबन्दी बिवरणको अवस्था बारे तथ्यांक संकलन गरि यथार्थ अवस्था बुझ्नका लागि यस्तो निर्णय गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताए ।

‘अहिले महासंघमा आवद्ध १ सय ८० पत्रकार छन् । यो वाहेक विभिन्न संचार माध्यममा काम गर्ने श्रमजीवी पत्रकारहरुको एकिन तथ्याङक भने देखिदैन । महासंघले ‘श्रमजीवी पत्रकार डेस्क’ सञ्चालन गरी जिल्लामा रहेका श्रमजिवी पत्रकारहरुको अधिकारको बारेमा लड्ने जनाएको छ ।

अहिले सरकारले न्युनतम पारिश्रमिक ऐनको प्रभावकारी कार्यन्वयनका लागि पत्रकारलाई तलब उपलब्ध गराएको बैंक स्टेटमेन्ट समेत अनिवार्य बुझाउन निर्देशन दिएको छ । यो ऐन कार्यान्वयनका लागि पत्रकारले अनिवार्य रुपमा दैनिक ८ घण्टा काम गर्नुपर्ने र त्यस बापत कम्तीमा मोफसलमा १९ हजार २ सय उपलब्ध गराउनुपर्नेछ ।

खेल पत्रकारिता तालिम
महासंघले जिल्ला फुटबल संघ बागलुङसँगको समन्वयमा माघ १८ र १९ गते खेल पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।
तालिमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमिल्सिना र कान्तिपुर एफएमका स्टेशन म्यानेजर पवन आचार्यले सहजीकरण गर्ने कार्यक्रम तय भएको महासंघका सचिव राम थापाले नयाँविश्वलाई बताए ।

पत्रकारिता पुरस्कार
यसै गरी बैठकले पत्रकार हरिनारायण गौतम र उनको परिवारद्धारा दिवंगत बुबा हरिलाल गौतम र आमा नन्दकली गौतमको स्मृतिमा महासंघ मार्फत प्रदान गर्ने गरि स्थापित ‘नन्दहरि र्सिजनशिल पत्रकारिता पुरस्कार—२०७४ प्रदान गर्नका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा तीन सदस्य पुरस्कार छनोट समिति गठन गरिएको छ ।

समितिको सदस्यमा नागरिक समाजको तर्फबाट काजीगाउँले श्रेष्ठ र पुरस्कार कोष संस्थापकको तर्फबाट हरिनारायण गौतम रहेका छन् । यस पुरस्कार धौलागिरि अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका मध्ये प्रत्येक वर्ष एक पत्रकारलाई नगद १५ हजार १ सय १५ सहित सम्मान गरिदै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung