
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागलुङको काठेखोला गाउँपालिकामा साताव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका संयन्त्रको बिहीवार सम्पन्न विस्तारित वैठकले गाउँपालिकाका ८ वटै वडामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको हो ।
फागुन १ देखि काठेखोला गाउँपालिका वडा नं. १ बाट शुरु गरी ८ गते वडा नं. ८ मा पुगेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने भएको हो ।
साविक नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रबीच एकीकरण पछि तल्लो तहसम्मको एकीकरणले पूर्णता नपाएका कारण पार्टीका गतिविधि नभएको, पार्टीका नीति तथा विचारहरु तल्लो तहसम्म नपुगेको, जनप्रतिनिधिहरु र पार्टी संयन्त्रबीच सहकार्य हुन नसकेको वैठकका सहभागीहरुले बताएका थिए ।
पार्टीका गतिविधि प्रभावकारी नभएका कारण विपक्षीहरुले नेकपाको नेतृत्वमा रहेका वडाहरुका तर्फबाट भएका कामका बारेमा भ्रमहरु फैलाउने, काममा अवरोध गर्ने लगायतका काम गरेको स्थानीय कार्यकर्ताहरुले बताएका छन् ।
प्रशिक्षणका क्रममा विपक्षीहरुले फैलाएका भ्रमहरु हटाउने, जनप्रतिनिधिहरुले गरेका कामको समिक्षा गरी थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट समन्वयकारी भूमिका निर्वाहन गर्ने बताइएको छ ।
काठेखोलामा नेकपाका तर्फबाट निर्वाचित वडा अध्यक्षहरुका कामलाई विवादित बनाउने काम विपक्षबाट भएको भन्दै वैठकका सहभागीहरुले एकतावद्ध भएर भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताएका थिए ।
काठेखोलाका ८ मध्ये ५ वडामा नेकपा र ३ वडामा नेपाली कांग्रेसको नेतत्व रहेको छ । नेकपाले विजय प्राप्त गरेका वडाका अध्यक्षहरुले गरेका राम्रा कामहरुलाई विवादित गराउने, अख्तियारमा उजुरी गर्ने काम कांग्रेसका तर्फबाट भएको नेकपाको आरोप छ । नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुले गरेका गलत कार्यहरुको डटेर सामना गर्न नेता कार्यकर्ताहरुलाई आव्हान गरिएको छ ।
वैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका स्तरीय संयन्त्रका सदस्य डिल्लीराज गौतमको अध्यक्षता, सदस्य कृष्ण थापाको सञ्चालन र सदस्य अञ्जु जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।