२१ बैशाख २०८१, शुक्रबार

 

काश्मिर हमलाको जवाफः भारतले पाकिस्तानमा छिरेर गर्यो हमला, हजार किलो बम बर्सायो

एजेन्सी
भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

‘कारवाही आशा गरेभन्दा ठूलो’

जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा भने, ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो ।’

प्रतिक्रिया दिनुहोस्