२५ बैशाख २०८१, मंगलवार

 

‘मोदीलाई विश्वनाथमा पूजा गराएँ’

टेकनारायण पौडेल उपाध्याय, (मूल पुरोहित विश्वनाथ मन्दिर)

काशीको प्रसिद्ध विश्वनाथ मन्दिरमा २१ जना पुजारी छन् । तीमध्ये ११ जनाले मात्र गर्भगृहमा पूजा गर्छन् । त्यो सौभाग्य पाउनेमा एक जना नेपाली छन्– टेकनारायण पौडेल । बागलुङबाट ०४४ सालमा अध्ययनका लागि काशी पुगेका उनले त्यहाँ खुला प्रतिस्पर्धाका आधारमा विश्वनाथको मूल पुरोहित बन्न पाए । यही कारण उनले थुप्रैपटक त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न पाए । उनैले मोदीलाई विश्वनाथको पूजाआजा र आरती गराए । पौडेलसँग काशी र नेपालको राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्धबारे सञ्जय पन्थीले गरेको कुराकानी :

विश्वनाथ मन्दिरमा मूल पुरोहित हुने अवसर कसरी पाउनुभयो ?

मेरो जन्मस्थान बागलुङ हो । सामान्य ब्राह्मण परिवारमा जन्मिए । कक्षा ४ सम्म आफ्नै गाउँ भीमपोखराकै स्कुलमा पढेँ । त्यसपछिको पढाइ बिहुँस्थित गुरुकुलमा अघि बढ्यो, संस्कृत शिक्षा । केही वर्ष त्यहाँ अध्ययनपछि उच्चशिक्षाका लागि ०४४ सालमा काशी आएको हुँ ।

यहाँ आएपछिका संघर्ष र जीवनकथा छुट्टै छन् । बनारसका गल्ली र आश्रम मेरा सहारा बन्न पुगे । आफ्नो लक्ष्यबाट विचलित भइनँ । अध्ययनलाई निरन्तरता दिइरहेँ । बनारस हिन्दु विश्वविद्यालयमा पढ्ने अवसर जुर्‍यो । त्यहाँबाट वेद विषयमा आचार्य (स्नातकोत्तर) गरेँ । त्यति बेला म काशी–नरेशको घरमा नित्य वेद पाठ गर्थें । यसले मलाई आर्थिक रूपमा सहज भयो ।

त्यसै बेला भारतीय सेनामा गुरु–पुरोहित पदका लागि विज्ञापन खुल्यो । कलकत्ता गएर परीक्षा दिएँ । पास पनि गरेँ । नाम निस्कियो । नियुक्ति लिने बेला घरमा फोन गरेर बुबालाई सुनाएँ । तर उहाँ खुसी हुनुभएन । उल्टै भन्नुभयो, ‘तिमीले जीवनमा सुखसुविधा र सम्पन्नता त प्राप्त गरौला तर त्यहाँको भक्ष–अभक्ष संस्कारका कारण तिमीले दिएको पिण्ड मैले प्राप्त गर्ने बाटो खुला रहँदैन ।’ त्यसपछि बुबाको इच्छालाई चुनौती दिन सकिनँ । मध्यममार्ग अपनाउँदै नियुक्ति नै लिन गइनँ ।

राजस्थानस्थित एक वेद विद्यालयमा प्राचार्यका लागि विज्ञापन खुलेको थियो । त्यहाँ पनि छनोट भएँ तर छाडिदिएँ । त्यति बेलै विश्वनाथ मन्दिरमा पहिलोपटक पुजारी पदका लागि खुला प्रतिस्पर्धाको विज्ञापन निस्कियो । तर म नेपाली भएकाले भर्न पाउँदिनँ कि भन्ने द्विविधा थियो । काशी–नरेशसँग जिज्ञासा राखेँ । उहाँले ‘फारम सबैका लागि हो, तिमी पनि भर’ भन्ने जवाफ दिनुभयो । म उहाँको परिवार सदस्यजस्तै भइसकेको थिएँ । काशी विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ पनि थिएँ । मेरो प्रतिभाबारे उहाँ जानकार हुनुहुन्थ्यो ।

फाराम भर्ने ४ सय ८० जनामध्ये ५ जनाको नाम निस्कियो । मेरो नाम दोस्रो नम्बरमा रहेछ । खुसीको सीमा नै रहेन । मन्दिर प्रशासनले पहिलोपटक गरेको खुला प्रतिस्पर्धामा सफल भएँ, त्यो पनि नेपाली । सन् २००० यता बाबा विश्वनाथको निरन्तर पूजा–अनुष्ठान गर्ने अवसर प्राप्त छ ।

मन्दिरमा यहाँको जिम्मेवारी के–के हो ?

भारतमा १२ (द्वादश) ज्योतिर्लिंग छन् । त्यसैमध्ये एक विश्वनाथ बाबा हुनुहुन्छ । काशी आफैंमा प्राचीन धर्म र शिक्षाको नगरी हो । छुट्टै महिमा र गरिमा छ ।

मन्दिरमा पूजाका आफ्नै विधिविधान र नीतिनियम छन् । बिहान साढे २ मा द्वार खुल्छ । राति ११ः३० मा बन्द हुन्छ । यहाँको विधिविधानअनुसार नित्यपूजा हुन्छ । छनोटपछि हामी ६ महिनाको प्रशिक्षणकालमा रह्यौं । वेदपाठ र कर्मकाण्डको पूर्वाभ्यास र ज्ञान भएकाले प्रशिक्षणकाल राम्रैसँग गुज्रियो । पूजापद्धतिमा पारंगत भएपछि भित्र मन्दिरमा अन्य पुजारीसरह पूजा गर्न सुरु गर्‍यौँ । कुनै विभेद छैन ।

सन् १९८३ मा मन्दिरमा चोरी भएकाले खुला प्रतिस्पर्धाबाट पुजारी नियुक्त गर्ने निर्णय भएको रहेछ ।

यहाँ हुने विशेष पूजापर्व के–के हुन् ?

खास त ज्योतिर्लिंग भएकाले शिवरात्रि नै हो । ठूलो एकादशी, तिहारको औंसीको भोलिपल्ट विशेष भोगसहित अन्नपूर्णाको पूजा हुन्छ । साउने सोमबारमा पनि विशेष पूजा हुन्छ । बिहान २ः३० बजे खुल्ने मन्दिरको द्वार मध्याह्न १२ बजे एक घण्टालाई बन्द हुन्छ । दिउँसो १ बजे खुलेपछि राति साढे ११ मा शृंगार–आरतीसँगै बन्द हुन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी बनारस आउँदा सधैं विश्वनाथ मन्दिर पुग्नुहुन्छ रे नि ?

भनिएजस्तो सधैं आउन सम्भव छैन । सुरक्षाव्यवस्था अत्यन्तै कडा बनाउनुपर्ने हुन्छ । स्थानीय प्रशासनले अनुमति दिएको खण्डमा आउनुहुन्छ । यसपटक पनि निर्वाचनमा उम्मेदवारी मनोनयन गर्न आउँदा दुई दिन बनारस बस्नुभयो । मन्दिर आउन अनुकूलता मिलेन । मैले नै उहाँ बसेको स्थानमा गएर चन्दन, फूलप्रसाद र दोपट्टा टक्य्राएँ । यसअघि तीनपटकसम्म मन्दिर आउँदा मैले नै उहाँलाई पूजा गराउने अवसर पाएको छु । गंगा सफाइका अवसरमा असीघाट गंगातटमा पनि मैले नै उहाँलाई पूजा गराएँ ।

मैले अहिलेसम्म चारपटक उहाँलाई विशेष पूजा गराएको छु । ५ वर्षे कार्यकालमा उहाँ २१ पटक काशी आइपुग्नुभएको छ । उहाँ देशको प्रधानमन्त्री भइरहँदा काशीको जनप्रतिनिधि पनि हो । त्यसैले पनि उहाँलाई पटक–पटक भेट गर्ने अवसर पाएँ ।

उहाँसँग भेट्दा नेपाल र नेपालीबारे पनि गफ हुन्छ कि ?

उहाँ आरएसएसको स्वयंसेवक पनि भएकाले नेपालको मौलिक धर्म र संस्कृतिबारे राम्रै अवगत हुनुहुन्छ । प्रधानमन्त्री भएपछि पनि पटकपटक नेपाल भ्रमण गरिसक्नुभयो । मुक्तिनाथ पुग्नुभयो । राजनीतिक आरोह–अवरोह बिर्सिदिने हो भने नेपालको धर्मसंस्कृतिबारे राम्रैसँग जानकार हुनुहुन्छजस्तो लाग्छ ।

एकपटक उहाँले ‘तपाईंको नेपालको हालखबर के छ ?’ भनेर सोध्दा मैले मभन्दा जानकार तपाईं नै हुनुहुन्छ भनेँ । पहिलोपटक पूजापछि दक्षिणा दिँदा मैले त्यो नलिएर नेपाल र नेपालीको पहिचानसहितको हित हुने मार्गका लागि अनुरोध गरेँ । त्यस बखत उहाँले नेपाल र नेपालीको सदिच्छा हो भन्ने जवाफ दिएको मानसपटलमा ताजै छ । नेपालप्रति सधैं स्नेही र चिन्तित रहेको पाउँछु । उहाँको शालीनता र सभ्यताबाट म ज्यादै प्रभावित छु । उहाँजस्तो उच्च शिखरमा पुगेको व्यक्ति पूजाआजामा हामीसँगै मन्त्रोच्चारण गर्दै विधिविधान विनम्रतासाथ परिपालन गर्नुहुन्छ ।

ब्राह्मणले चन्दन लगाइरहँदा उहाँले आफ्नो दाहिने हात शिरमा राखेर मन्त्रोच्चारण गरेको मैले देखेको छु । त्यसैले उहाँलाई उच्च संस्कारित भन्न रुचाउँछु ।
मैले पूजा गराउँदा उहाँको जस्तो तेजस्विता अरूमा पाएको छैन । त्यो अनुभूत गर्ने कुरा हो । शब्दमा वर्णन गर्न सकिँदैन । उहाँ मन्दिर सवारी हुँदा गाडीबाट ओर्लेदेखि मन्दिरबाट निस्किँदासम्म पनि हात जोडिरहेकै हुनुहुन्छ । धर्म र संस्कारप्रतिको झुकाव अवर्णनीय छ ।

मोदी यसपटक पनि काशीबाटै उम्मेदवार हुनुहुन्छ । कस्तो आउला परिणाम ?

यहाँको सामाजिक र राजनीतिक अवस्थाबारे जानकारी गराउनुपर्दा उहाँलाई चुनौती दिन सक्ने उम्मेदवार कोही छजस्तो लाग्दैन । उहाँले बनारसको जनप्रतिनिधि भएपछि गरेका काम र योजनाका कारण पनि अधिकांशले फेरि एकपटक मोदी नै भन्ने गरेको पाउँछु । विश्वनाथ करिडोर होस् वा गंगा सफाइ योजना, यसै अवधिमा सुरु भएका छन् । यी योजनाले काशीको मुहार मात्र नभएर स्वरूपमै बदलाव ल्याइदिएका छन् । शान्तिसुरक्षादेखि सडक यातायातको अवस्थामा परिवर्तन भएको देख्न सकिन्छ । उहाँको पहिलो कार्यकालमा देशले नै परिवर्तन महसुस गरिरहँदा काशीले झन् ठूलो परिवर्तन महसुस गरिरह्यो । त्यसैले उहाँ काशीबाट निर्विकल्प हुनुहुन्छजस्तो लाग्छ । मे १९ मा हुने मतदान र मे २३ को परिणामले स्पष्ट पारी नै हाल्नेछ ।

विश्वनाथ र पशुपतिनाथबीचको सम्बन्ध कस्तो छ ?

विश्वनाथ र पशुपतिनाथबीच सदियौं पुरानो सम्बन्ध छ । पौराणिक सभ्यता यहाँका कला र मठमन्दिर अध्ययन गर्दा प्रस्ट हुन्छ । काठमाडौंलाई पनि मन्दिरैमन्दिरको सहर भनिन्छ । काशीलाई धर्म र शिक्षाको नगरी भनिन्छ ।
त्यो सम्बन्धलाई यति बेला आएर कसैले मैले बनाएँ भन्छ भने अफबाह मात्र हो । भारतवर्षमा रहेका द्वादश ज्योतिर्लिंगमध्ये साढे ११ भारतमा र आधा नेपालमा छ । नेपालको आधा भागले नै द्वादशको पूर्णता गराउँछ भन्ने मेरो मान्यता छ । आधा भन्नुको तात्पर्य केदारनाथ र पशुपतिनाथ आधाआधा हुन् । त्यसको आफ्नै महिमा र किंवदन्ती छ । भारतमा सबै ज्योतिर्लिंगको दर्शन गरे पनि नेपाल पुगेर पशुपतिनाथ दर्शन नगरी पूर्ण हुँदैन । त्यो जानकारी अहिले पनि यहाँबाट गराउँदै आएको छु । विश्वनाथ आएका दर्शनार्थी पशुपतिनाथसम्म पुग्ने गरेका छन् ।

पशुपतिनाथ पशुहरूका नाथ हुनुहुन्छ । ‘पशुपतिनाथ पापानाम् नाशम्’ पनि भन्ने गरिन्छ । जबसम्म पशुपतिनाथ दर्शन गरिँदैन तबसम्म पाप नाश हुँदैन भन्ने मान्यता छ ।

काशी र नेपालको राजनीतिक सम्बन्ध र आयामलाई कसरी हेर्नुहुन्छ ?

नेपाल र काशीको सम्बन्ध पौराणिक मात्र नभएर पारिवारिक पनि छ । राजा पृथ्वीनारायण शाहका दुई रानीमध्ये एक नरेन्द्रलक्ष्मी काशीकै थिइन् । नेपालको आधुनिक राजनीतिक परिवर्तनका सूत्रधार मानिने बिपी कोइरालाको जन्मस्थान पनि काशी नै हो । सन्तनेता कृष्णप्रसाद भट्टराई यहीँकै हुनुहुन्छ । काशी शिक्षा र धर्मको नगरी रहेको अवगतै छ । नेपालको शिक्षा र राजनीतिको विकासमा यो ठाउँले पुर्‍याएको योगदानबारे कसैैले विद्यावारिधि गर्न सक्छ । त्यति तथ्य र प्रमाण छन् ।

राजा रणबहादुर शाहले बनाएको ललिताघाट र पशुपतिनाथ मन्दिरले आधुनिक सम्बन्ध प्रस्ट्याउँछन् । अहिले पनि यी धरोहर काशीमा सुरक्षित छन् । यति बेला केही विवाद सिर्जना गर्न खोजिए पनि त्यो स्थल नेपालीको हो भन्ने चिनारी छ । यहाँका नेपाली आश्रम पनि सुरक्षित छन् ।

नेपालका तीन प्रधानमन्त्री बिपी कोइराला, किसुनजी र मनमोहन अधिकारी बनारस विश्वविद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । त्यसले पनि काशी र नेपालको राजनीतिक सम्बन्ध प्रस्ट पार्छ । नेपालको उच्च तहमा पुग्ने यसअघिका अधिकांश प्रशासक वा नेतागण काशीकै शैक्षिक संस्थाका विद्यार्थी हुन् भन्दा फरक पर्दैन । त्यसैले काशी–नेपालबीच अन्योन्याश्रित सम्बन्ध छ । नेपाल एक मात्र हिन्दू राष्ट्र रहुन्जेल यहाँका राजादेखि उच्चपदस्थ परिवारका घरमा पूजा गराउन नेपाली ब्राह्मण नै खोजी गरिन्थ्यो । उदाहरण म आफैं छु । नेपाली भएकै कारण काशी–नरेशको परिवारमा गुरु–पुरोहित हुने अवसर पाएँ । कसैले काशीमा तेरो अभिभावक को भनेर सोधे म ‘काशी–नरेश’ भन्ने गर्छु । यो उहाँहरूले मप्रति जाहेर गरेको स्नेह र विश्वासले नै हो ।

यति बेला भारतमा पनि नेपालीप्रतिको दृष्टिकोण बदलिँदो छ । हिजोका दिनमा जस्तो विश्वास छैन । पछिल्लो राजनीतिक परिवर्तनले पनि विश्वास कमी हुन आएको बुझिन्छ । एक मात्र हिन्दू राष्ट्रको पहिचान मेटाई धर्मनिरपेक्ष बनाउनु धेरै कारणमध्येको एक हो । धर्मनिरपेक्षताले हाम्रो पहिचानमा कस्तो असर परेको छ, स्वदेशमा बस्नेले खासै अनुभूत गर्न सक्नुभएको छैन होला । हामी परदेशमा बस्नेले राम्ररी अनुभव गरिरहेका छौं । काशीले भलो चिताउँदा–चिताउँदै नेपालले काशीको गुण बिर्सिएर धर्मनिरपेक्षता ल्याएको हो कि भन्ने गरेको पनि सुनियो । नेपालको परिवर्तनको सूत्रधार काशी हो भन्न सक्ने पुस्ता नेपालमा अझै विद्यमान छ । काशी र नेपालको राजनीतिक सम्बन्धबारे मैले भन्दा उहाँहरूले सविस्तार वर्णन गर्न सक्नुहुन्छजस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्