प्रतिभाशाली गायक, सर्जक तथा मोडेल प्रकाश सपुतको नयाँ सांगीतिक प्रोजेक्टका लागि सिटी एक्सप्रेसले साथ दिएको छ । नेपाली लोक सांगीतिक इतिहासमा सर्वाधिक रुचाइएको गीत ‘बोल माया’ सार्वजनिक भएको एक वर्ष पुरा भएको अवसर पारेर सोही गीतसँग जोडेर तयार पारिएको नयाँ गित र म्युजिक भिडियोका लागि देश विदेशबाट पैसा पाउन पठाउन सकिने सिटी एक्सप्रेस मनि ट्रान्सफरले साथ दिएको हो ।
भाका नेपालको ब्यानरमा ‘बोल माया’ सँग विषयवस्तु जोडेर गीत तयार गरिएको भए पनि त्यो ‘बोल माया’-२ नहुने गायक सपुतले बताए । गत जेठ १ गते गीतको संक्षिप्त प्रोमोश्नल भिडियो सार्वजनिक गरेको उक्त समूहले गीतको म्युजिक भिडियो आगामी जेठ ११ गते सपुतको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गर्ने जनाएको छ ।
‘अबको निकट समयमै आउने प्रोजेक्ट ‘बोल माया’को घटना र विषयभन्दा अघिको कथावस्तु समेटिएको छ,’ उनले भने, ‘वियोगान्त विषय नभई केही रोमान्टिक लाग्नेछ, यसलाई पनि श्रोता, दर्शकले अधिक माया दिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’
लोक संगितका लागि पनि वित्तिय संस्थाबाट प्रोमोसनका लागि यस किसिमको साथ, सहयोग र आकर्षण देखिनु सुखद विषय भएको गायक सपुतले बताए ।
दर्जनौं गित गाए पनि ‘बोल माया’ गीतबाट चम्किएकी शान्ति श्री परियार र गायक सपुतको संयुक्त प्रस्तुति रहेको यो गितको म्युजिक भिडियो पनि सपुतकै जन्मगाउँ धम्जामा छायांकन गर्न थालिएको छ ।
गीतको भिडियोमा बोल मायाबाटै सर्वाधिक लोकप्रियता हासिल गर्न सफल अञ्जली अधिकारी लगायतको अभिनय रहनेछ। भिडियो छायांकन सम्पादनमा पनि पुरानै टिम प्रविन भट्ट, करन चैसिर लगायत रहेका छन् ।
















































































































































































